विराटनगर,७ पुष/
विराटनगरको मुटुमा रहेको हिमालय रोडको सबै संरचना एक निर्माण सम्पन्न गरेर महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ । सिक्किमको एमजी रोडको नमुनाका रुपमा विराटनगरमा सो रोडमा विभिन्न संरचना निर्माण सुरु गरिएको थियो । रोडको डिजाइनअनुसारका सबै संरचना निर्माण गरेर चाँडै सञ्चालनमा ल्याउने तयारीमा छौं,” मेयर नागेश कोइरालाले भने, “त्यसका लागि ठेकेदारलाई चाँडो काम गर्न निर्देशन दिइसकेका छु ।”
मेयर कोइरालाको नेतृत्वमा उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीयसहितको टोलीले तीनपटक अनुगमन समेत गरिसकेको छ । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एक महिनाभित्र सबै काम नसके ठेकेदारलाई कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिए । बिहीबार पनि प्रमुख प्रशासकीय अधिकृत कोइराला र प्राविधिकसहितको टोलीले निर्माणको अवस्थाका विषयमा अनुगमन गरेको थियो ।
यसैबीच, महानगरले जिल्ला प्रशाासन मोरङ अगाडि देखिँदै आएको पार्किङ समस्या समाधान गर्ने भएको छ । त्यसका लागि प्रशासनको गेट दक्षिण तथा शहीद रंगशाला उत्तरमा रहेको खाली जग्गामा पार्किङको व्यवस्थापन गर्न महानगरले सफाई सुरु गरेको छ । सो ठाउँमा मोटरसाइकल र साइकल पार्किङ गरिनेछ । जसबाट प्रशासन चोकसहित आसपासको क्षेत्रमा देखिँदै आएको पार्किङ समस्या समाधान हुने महानगरको विश्वास छ ।