काठमान्डौ ९ असोज ।
हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्युन चापीय क्षेत्र उत्तर–पूर्व सर्दै आउदा यसको प्रभाव नेपालमा पनि परेको छ । मनसुन सक्रिय भएका कारण झरी पर्ने क्रम जारी छ । विगत केही दिनदेखि परिरहेको झरी शुक्रबार पनि कायमै रहने बताइएको छ । देशभर शुक्रबार दिउँसोको मौसममा सामान्य देखि अधिकांश बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । यस संगै सचेतता अपनाउन महाशाखाले आग्रह समेत गरेको छ । मौसमविदहरुले शनिबार सम्ममा मौसममा केही सुधारहुने संकेत गरेका छन् ।