विराटनगर २२ कार्तिक /
शौचालय, विद्युत र खानेपानी, झ्याल ढोकाको ब्यवस्था नगरिकन हतारोमा एकीकृत नमूना बस्ती विपन्न समुदायलाई हस्तान्तरण गरिएको छ । मोरंगको ग्रामथान गाँउपालिका ७ बनिगामामा विपन्नका लागि बस्ती निर्माण गरि शुक्रबार एक कार्यक्रमका बीच प्रदेशका मुख्यमन्त्री शेरधन राईले निर्माण भएका भौतिक संरचना हस्तान्तरण गरेका हुन्।
मुख्यमन्त्री राईद्धारा हस्तान्तरण गरिएको बस्तीले भने पूर्णता पाउन सकेका छैनन् । बस्ती विपन्नका लागि बनाएपनि अपुरो रहेको घरमा बस्ने परिवारको दु:खेसो रहेको छ। त्यसैगरि, बस्ती हस्तान्तरण कार्यक्रममा राजनीतिकरण गरिएको गाँउपालिका उपाध्यक्ष फुलकुमारी चौधरीले आरोप लगाएकी छिन् । गाँउपालिकाको कार्यक्रममा स्वागत मन्तब्य समेत राख्न नदिएर नेकपाले एकपक्षीय ढंगबाट कार्यक्रम गरेको उनको गुनासो छ। उपाध्यक्ष चौधरीका अनुसार गाँउपालिकाको तालिकालाई मिचेर प्रदेशबाटै तालिका बनाएर आउदाँ राजनीतिकरण भएको हो।
गाँउपालिकाले समेत लगानी गरहेको हुदाँ त्यहीको महिला जनप्रतिनीधिलाई जनतामा कुरा राख्नबाट बन्चित गरिएको उनको दु:खेसो छ । निर्माण गरिएको एकीकृत बस्तीको कार्य पुरा नहुदै हस्तान्तरण गरिएको उनीले स्वीकार गरिन्। बस्ती निर्माणमा गरिएको लगानीको अपनत्व लिन पाउनुपर्ने उनलेे बताइन् । बस्तीका घरहरुमा झ्याल, ढोका लगाउन बाँकी नै रहेको उनले बताइन्। यद्धपी, तिहारपछि घरघरमा मिटर जडान र शौचालय पाइप जडान कार्यले पूर्णता पाउने उनको भनाई छ ।
अर्कोतर्फ, शौचालय, स्नानघरसहित तीन कोठाको भौतिक संरचना तयार भएपनि खानेपानी, विद्युत र शौचालय जडान हुन बाँकी नै रहेको छ । स्थानीय सन्तोष सरदारले भौतिक संरचना भएपनि खानेपानी जस्तो प्राथमिकमा पर्ने कुरा र शौचालयको पाईप हजसम्म नजोडिदाँ समस्या भएको गुनासो गरे। बस्तीको नाम दिएर अपुरो काम भएको उनको भनाई छ ।
अर्कोतर्फ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद पौडेलले करिब ४ विगाह सार्वजनिक क्षेत्रफलमा ३४ वटा घर निर्माण गरि हस्तान्तरण गरिएको जानकारी दिए। वडाले सिफारिस गरेको सिमान्तकृत र विपन्न परिवारलाई घर उपलब्ध गराइएको बताएका पौडेल घरघरमा विद्युत मिटर जडान गर्न भने बाँकी रहेको जानकारी दिए। विद्युतको मिटरसमेत जडान गरिदिनुपर्ने दायित्व बस्ती निर्माण गर्ने पक्षको रहेको बताउदै गाँउपालिकाका एक पदाधिकारीले बस्तीका मानिसले हाल सानो सोलार प्यानल र मिटर विना विद्युत सेवा लिइरहेकाछन्।
अर्कोतर्फ घरबारविहीन भएका सुकुम्बासीहरु भने खुशी भएकाछन्। सुनसरी मोरंग सिचांई आयोजनाको नहरमा बस्दै आएकाहरुको घर भत्किएपछि २०७५/७६ सालमा ३ करोड ४ लाख रुपैयाको लागतमा बस्ती निर्माण गरिएको हो। जसमा निर्वाचन क्षेत्र विकास संघीय मामिलातर्फ प्रतिनीधि सभासदस्य अमनलाल मोदीबाट १ करोड १९ लाख, ग्रामथान गाँउपालिकाको १ करोड २० लाख र संघीय सरकारको सम्बृद्धि कार्यक्रम अन्तरगत ६७ लाख खर्च भएको छ।