विराटनगर ५ फाल्गुन ।
विराटनगर महानगरपालिकाले एकीकृत विपद् सूचनाको व्यवस्थापन गर्ने ‘विपद् पोर्टल’ संचालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमका बीच विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले विपद् पोर्टल सञ्चालनमा ल्याएका हुन् । गृह मन्त्रालयले तयार पारेको उक्त विपद व्यवस्थापनको पोर्टल बाट ३९ प्रकारका विपदका घटनाहरू हेर्न सकिन्छ । विराटनगर महानगरपालिका भित्र घटेको विपद्का घटनाहरूको साथै अस्पताल, शैक्षिक संघसंस्थाहरुको पनि अभिलेखकरण गरेर राखेको छ ।
विपद् व्यवस्थापन सम्बन्धी कुनैपनि सूचना आवश्यक परेमा biratnagarmun.bipadportal.gov.np गएर हेर्न सकिनेछ । यस पोर्टलको लागि महानगरपालिकाले अर्चना कर्णलाई फोकल पर्सन तोकेको छ । विपद पोर्टलले दिएको सूचनाको माध्यमबाट सहज रुपमा सूचना लिन र रणनीति योजना बनाउन सहज हुने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले बताए । पोर्टलका माध्यमबाट महानगरबासीलाई सूचना लिन र दिन सहज हुने पराजुलीको भनाइ थियो ।कार्यक्रममा विराटनगर महानगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत दुर्गाप्रसाद खतिवडा, विपद् व्यवस्थापन सम्पर्क व्यक्ति राजेन्द्र प्रधान,महानगरका प्रवक्ता तथा सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया लगायतको सहभागिता रहेको थियो ।