काठमाडौं, १९ वैशाख । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौगाइवाले स्वदेश फर्किएका छन् । आज (शुक्रबार) नेपालको तीनदिने भ्रमण पूरा गरी उनी स्वदेश प्रस्थान गरेका हुन् । नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि शीर्ष नेताहरुसँग भेटवार्ता गरेका थिए ।
उनले नेपालमा रहँदा पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव कुमार नेपाल, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासहित माओवादी केन्द्र, नेपाली कांग्रेस दलमा आवद्ध नेताहरुसँग भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा उनले भारतको सुरक्षा र आतंकवादी गतिविधिका विरुद्धमा नेपालमा समर्थनबारे चासो राखेको बताइएको छ ।
खुला सीमाना भएकाले एकअर्काको सुरक्षाको लागि दुवै देश गम्भीर हुनुपर्ने उनको आशय रहेको थियो । साथै, नेपाल–भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्ने बारे पनि उनले चासो व्यक्त गरेको बताइएको छ ।