featured photo: Birat Post
विराटनगर,२२ असार । नेपाललाई हिन्दुराष्ट्र बनाउन नेपाली कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले माग गरेका छन् । आइतबार नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा उनले धार्मिक सहिष्णुता, समानता र बहुमत जनताको भावनालाई सम्बोधन गर्नका लागि सनातन हिन्दु राष्ट्र बनाउनु पर्ने माग गरेका हुन् ।
यसअघिको केन्द्रीय कमिटी बैठकमा पनि उनले पार्टीले हिन्दु राष्ट्रको मुद्दा उठाउनुपर्ने बताएका थिए ।
‘नेपालमा धार्मिक कारणले विभिन्न समस्याहरू उत्पन्न भएको हामीले अनुभुती गरिरहेका छौ । धर्म परिवर्तनको दबाब र विवादका बीच सामाजिक तनाव बढेको देखिन्छ,’ उनले भने,‘ यस्ता गतिविधिले एउटै धर्म र समुदायहरूबीच पनि अविश्वास खडा गरेको छ । धार्मिक सहिष्णुता, समानता, र सद्भावलाई कायम राख्न र बहुमत जनताको भावनालाई संवोधन गर्न पनि सनातन हिन्दु राष्ट्र बनाउन जरुरी हुन्छ ।’
सरकारबाट पार्टीलाई घाटा भयो
केन्द्रीय समितिको बैठकमा आइतबार बोलेका उनले वर्तमान सरकारबाट कांग्रेसलाई बढी घाटा भएको बताए । ‘ बारम्बार सरकार परिवर्तनले निम्ताएको समस्या समाधानमा पछिल्लो समय कांग्रेस एमालेको गठवन्धन भइरहनु देशकै लागि हितकर भएको मेरो ठम्माइ छ, यद्यपी यसका असरहरु पनि छन्,’ उनले भने,‘ ठूलो दल कांग्रेसले लाभ भन्दा हानी वेहोर्नु परेको अवस्था छ । संसद र सरकारमा हाम्रो भुमिका पनि कमजोर किन भइरहेको छ रु’
सरकारले ल्याएको बजेटमा व्यक्ती हाबी हुने गरेको उनले बताए । विकास निर्माणका सवालमा सहमतिको सरकारका नाममा नेकपा एमालेका मन्त्रीहरुले आफुखुसी वजेटहरु आफ्नो क्षेत्र लगेको देखिन्छ । यो रोग कांग्रेसमा पनि देखियो,’ उनले भने,‘ यो राम्रो पक्ष होइन । यसले समग्रमा कांग्रेसलाई कमजोर बनाउछ ।’
दुइतिहाइ सरकारका नाममा कांग्रेस निरिह रहेको उनले बताए । ‘ धेरैखाले नियुक्तिहरुमा टुलुटुलु हेर्नु परेको छ,उदाहरणका लागि पूर्वाञ्चल विश्वविद्यालयको नियुक्तिलाई लिन सकिन्छ, अन्य नियुक्तिहरुमा समेत यस्तै अवस्था छ ।’ उनले भने।
उनले प्रदेश र संघीय सरकारमा रहेपनि काम गर्न नसकेको मन्त्रीलाई फिर्ता बोलाउन माग गरे । ‘ सरकारमा नेतृत्व गरेका मन्त्रीहरु जागिरखान मात्र गएका होइनन् । काम गर्न नसक्नेहरुलाई सरकारवाट फिर्ता बोलाउनु पर्छ,’ उनले भने,‘ राम्रा कामगर्नेहरूलाई पार्टीले प्रशंसा पनि गर्नुपर्छ ।’
पराजुलीले उठान गरेका १८ बुदाहरु :
१, कांग्रेसमा अनुसाशन र आचारसंहिताको खाचो : नेपाली कांग्रेस आफैमा अनुसाशनको पर्याय हुनुपर्ने हो । देशको सवैभन्दा ठूलो लोकतान्त्रिक पार्टीमा अनुसाशन कमजोर भएको अनुभुती मैले गरेको छु । सम्भवत यहाँहरुले पनि अनुभुती गर्नु भएको होला । यसकारण कांग्रेसले विशेष समिक्षा सहित अगाडि बढ्न आवश्यक छ । निर्मम ढंगले एकपटक आचारसंहिताको पालना गराउन जरुरी छ । चियापसल,चोक , बजार , सदन वा संसदमा बसेर जथाभावि आफ्ना नेताहरुको विषयमा र पार्टीको विधि प्रक्रिया विरुद्ध बीष वमन गरिरहेको पाइन्छ । यस्तो नगरौ । आफ्ना धारणाहरु पार्टीको फोरमभित्र संस्थागतरूपमा राखौ । सामाजिक सन्जाल या सार्वजनिक स्थलमा गालिगलौच गर्ने काम पनि बन्द गरौ । यद्यपी यसका लागि हामी नेतृत्वले समेत धार्मिक,नैतिकवान,चरित्रवान र इमान्दारपूर्ण व्यवहार प्रस्तुत गर्न जरुरी देखेको छु ।
२ ,क्रियाशिल सदस्यको बर्गीकरण : कांग्रेसमा क्रियाशिल सदस्यको बर्गीकरण गर्ने व्यवस्थाको सुरुवात गरौ । क्रियाशिल व्यक्ति कुन पद र सम्मान पाउन योग्य छ भन्ने कुराको विश्लेषण गर्न आवश्यक छ । यही विश्लेषण नगर्दा पार्टीमा धेरै समस्या निम्ति सकेको पनि छ । जसका कारणले क्रियाशिल नविकरण नहुनु र अन्य पार्टीमा हाम्रा साथीहरु जानेक्रम बढ्नु पनि एउटा समस्या हो ।
३, राजनीतिक अस्थिरता र वर्तमानमा स्थिर सरकारको प्रयास : बारम्बार सरकार परिवर्तनले निम्ताएको समस्या समाधानमा पछिल्लो समय कांग्रेस एमालेको गठवन्धन भइरहनु देशकै लागि हितकर भएको मेरो ठम्माइ छ । यद्यपी यसका असरहरुपनि छन् । सरकारमा रहेको ठूलो दल कांग्रेसले लाभ भन्दा हानी वेहोर्नु परेको अवस्था छ । संसद र सरकारमा हाम्रो भुमिका पनि कमजोर किन भइरहेको छ ? यो सोचनीय विषय छ ।
४, सरकारले ल्याएका विकास निर्माणका बजेटमा व्यक्ति हावी : विकास निर्माणका सवालमा सहमतिको सरकारका नाममा नेकपा एमालेका मन्त्रीहरुले आफुखुसी वजेटहरु आफ्नो क्षेत्र लगेको देखिन्छ । यो रोग कांग्रेसमा पनि देखियो । यो राम्रो पक्ष होइन । यसले समग्रमा कांग्रेसलाई कमजोर बनाउछ । पूर्व क्षेत्र खासगरी मोरङ्गमा विकासका वजेटहरु नपर्नु आफैमा विडम्वनापूर्ण छ । विकास निर्माणका वजेट स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा गरौ । जथाभावि भएको छ । म ध्यानाकर्षण गराउन चाहन्छु ।
५, दुइतिहाई सरकारका नाममा मनपरि नियुक्ति : दुइतिहाइ सरकारका नाममा सत्तासाझेदार पार्टी कांग्रेस निरिह देखिएको छ । धेरैखाले नियुक्तिहरुमा टुलुटुलु हेर्नु परेको छ । उदाहरणका लागि पूर्वाञ्चल विश्वविद्यालयको नियुक्तिलाई लिन सकिन्छ । अन्य नियुक्तिहरुमा समेत यस्तै अवस्था छ ।
६, सुशासनको अभावःभ्रष्टाचार कायमै रहनु : अझै पनि राजनीतिक नेतृत्व र प्रशासनमा व्यापक भ्रष्टाचार छन् भन्ने जनगुनासो छन् । यसलाई कसरी समस्या समाधान गर्ने र जनमानसमा जाने भन्ने कुरा सोच्न आवश्यक छ ।
७,जनप्रतिनिधिका सवालमा :
स्थानीय ,प्रदेश र संघीय जनप्रतिनिधिप्रति यति धेरै प्रश्नका आवाजहरु उठेका छन् । काम गर्न नसकेको भनिएको छ । स्थानीय तहमा रहेकाहरुलाई पनि पार्टीले नियमन गर्न जरुरी भयो । प्रदेश र संघबाट सरकारमा नेतृत्व गरेका मन्त्रीहरु जागिरखान मात्र गएका होइनन् । काम गर्न नसक्नेहरुलाई सरकारवाट फिर्ता बोलाउनु पर्छ । राम्रा कामगर्नेहरूलाई पार्टीले प्रशंसा पनि गर्नुपर्छ ।
८,भातृसंगठन :
भातृसंगठन तथा सुभेच्छुक संस्थाहरुलाई चुस्त दुरुस्त बनाउन आवश्यक छ । एकपटकका लागि पार्टीका तत्–तत् निकायलाई जिम्मेबारी प्रदान गरि समय सीमा तोक्ने र सोही अनुरूप अधिवेशन गराउने वातावरण बनाउनु पर्छ ।
९,अभियानहरु आवश्यक : कांग्रेसलाई वडा तहदेखी सक्रिय वनाउन विभिन्न अभियानहरु आवश्यक छ । जुन १०० दिने अभियानले काग्रेसलाई निकै सक्रिय बनाएको थियो । अवपनि नयाँ कार्यक्रम लिएर जनतामाझ जानुपर्छ ।
१०, संघीयताको कार्यान्वयनमा अझै चुनौती : नेपालको संघीय संरचना (संघ, प्रदेश, र स्थानीय तह) प्रभावकारी कार्यान्वयनमा कठिनाइ भइरहेको छ । प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँट र स्रोत व्यवस्थापनमा विवाद देखिन्छ ।प्रदेश सरकारहरूको कमजोर क्षमता र बजेट अभावले विकास निर्माण हुन सकिरहेको छैन । यसको आन्तरिक स्रोत कमजोर छ । यसले साधारण खर्च पनि धान्न सकेको छैन । यसमा पनि कांग्रेसले सोच्न आवश्यक छ ।
११, छिमेकी देश,वैदेशिक सम्बन्ध र प्रभाव कमजोर :
छिमेकी देशहरू (भारत र चीन) सँगको सम्बन्ध सन्तुलनमा राख्न चुनौती देखिएको छ जस्तो लाग्छ । नेपालमा भइरहेका राजैनिक उक्साहट र पछिल्लो समय भएका राजावादी आन्दोलनको खास भित्री कारण केहो ? यसलाई कांग्रेसले कुनरुपमा कसरी लिएको छ ? यसको सुक्ष्म अध्ययन गर्न जरुरी छ ।
१२,युवा र महिलाको राजनीतिक सहभागिता र निरसता : युवा पुस्तामा निरसताको बाढी छ । देशमा केही भएन, नेताहरुले केही गरेनन्, राज्यमा अवसर छैन भन्ने गुनासो छ । के यस्ता कुराहरुको संबोधन हामी कसरी गर्न सक्छौ ? के हामीले दिन नसकेको हो या बुझाउन नसकेको हो ? यस्ता कुराहरुको मनन गदै युवा लक्षित र अनुभुती हुनेगरीका कार्यक्रमहरु ल्याउन जरुरी छ ।
१३, पहिचान र क्षेत्रीय आन्दोलन :
पहिचान के हो ? के यसमा मौलिक आन्दोलनको पाटो समाविष्ट छ त ? छ भने पहिचानसँग सम्बन्धित आन्दोलनहरूलाई तत्काल कांगे्रसले संवोधन गर्नु पर्छ र अधिकार सुरक्षित गर्ने वातावरण बनाउनु पर्छ ।
१४,नेपालमा जनसंख्या वृद्धिको खाचो :
नेपालमा जनसंख्या स्थिर रहेपनि वृद्धिदर घटेको तथ्याङ्ग छ । २०७८ सालको राष्ट्रिय जनगणनाका अनुसार, नेपालको वार्षिक जनसंख्या वृद्धिदर ०.९३% रहेको छ, जुन ८० वर्षयताकै सबैभन्दा कम हो । तुलनाका लागि, २०६८ सालको जनगणनामा यो दर १.३५% थियो। यसले स्पष्ट देखाउँछ कि नेपालको जनसंख्या वृद्धिदरमा कमी आएको छ । वैदेशिक रोजगार, परिवार नियोजनको प्रयोग मुख्य कारण विज्ञहरुले देखाएका छन् । यसमा पनि ध्यान दिन जरुरी छ ।
१५, धर्म परिवर्तन र सनातन हिन्दु राष्ट्र :
पछिल्लो समय नेपालमा धार्मिक कारणले विभिन्न समस्याहरू उत्पन्न भएको हामीले अनुभुती गरिरहेका छौ । धर्म परिवर्तनको दबाब र विवादका वीच सामाजिक तनाव बढेको देखिन्छ । यस्ता गतिविधिले एउटै धर्म र समुदायहरूबीच पनि अविश्वास खडा गरेको छ । धार्मिक सहिष्णुता, समानता, र सद्भावलाई कायम राख्न र बहुमत जनताको भावनालाई संवोधन गर्न पनि सनातन हिन्दु राष्ट्र बनाउन जरुरी हुन्छ ।
१६,सवारी साधन ,लाइसेन्स र सडक : सवारी साधन अहिलेको अनिवार्य आवश्यकता भइसक्यो । १२५ सि.सि सम्मका बाइकहरुलाई अनिवार्य आवश्यकतामा राखि एकमुष्ट कर लिएर छुट दिउ । लाइसेन्स प्रक्रियालाई नेपालको सडक र अवस्था अनुसार परिवर्तन गरौ । सडकमा हुने सवैप्रकारका सवारी साधनको नियमन,सडक सुरक्षा र आपतकालिन उपचारको प्रवन्धको वातावरण बनाऔं । सार्वजनिक सवारी साधनको नियमन र अनुगमनमा विशेष ध्यान दिन जरुरी छ ।
१७,कृषिमा क्रान्ति नारामा मात्रै : कृषिमा क्रान्ति भन्छौ,नारामा मात्रै सिमित रहेको भन्दा पनि हुन्छ । कृषकहरु विउ,मलखाद,सिन्चाइको अभावमा जहिल्यै प्रताडित छन् । कृषि सामाग्री आयातका लागि भन्सारबाट दिइने सास्तिले अर्कातर्फ कृषकहरु पिडित छन् ।
१८, रोजगारका पाटाहरुको प्रवन्ध : जेन्जी पुस्ताको सोचलाई कांग्रेसले कसरी लिएको छ । तिनलाई कसरी आकर्षण गर्ने । उनिहरूको चाहना अनुसार के कस्ता कार्यक्रम ल्याउने भनेर सोच्न जरुरी छ । यस्तै युवा पुस्तालाई नेपालमै केही गर्न सकिन्छ भन्ने गरि नवप्रवर्तक Startup Business Program प्रभावकारी बनाउन पहल गरौ । अहिले आएका सूचना ,प्रविधिमा युवाहरूलाई समाविष्ट गरौ । पार्टीका गतिविधिलाई AI मार्फत प्रचार गरौ । युवा सक्षम व्यक्तिलाइ पार्टीका विभिन्न तहमा आरक्षण प्रदान गरेर ल्याउन जरुरी छ ।
सम्बन्धित