विराटनगर,४ असोज । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक विषय संरक्षण गर्ने उद्देश्यका साथ स्थापित वैदिक कर्मकाण्ड परिषद् नेपालको आठौं वार्षिक साधारणसभा एवं अधिवेशन विराटनगरमा सुरु भएको छ । परिषद्का अध्यक्ष कुमार निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा देशका विभिन्न स्थानमा रहेका धार्मिक गुरु,पिठाधिस तथा साधुसन्तहरुको सहभागिता रहेको छ ।
शुभकामना प्रदान कार्यक्रममा बोल्दै जगतगुरु बालसन्त महाराजले विद्वानहरुले समाजलाई गतिदिने हुदा फुटेर हैन जुटेर सनतान धर्म,संस्कृति ,सभ्यताको संरक्षणमा लाग्न आग्रह गरेका छन् । विद्वानहरुले सवैको भावना समेटेर अगाडि बढ्ने हो, यसमा सवै संग समन्वय र मित्रभाव राखेर अगाडि वढ्दा राम्रो हुनेछ । जगतगुरु बालसन्तले समय सापेक्ष समाजका अगुवाहरुसंग सवाद थाल्न पनि आग्रह गरे । उनले गलत अफवाह फैलाउने कामलाई बन्द गराउन समाजका सवैखाले अगुवाहरुसंग छलफल जरुरी हुने औल्याए ।
यस्तै परिषद्का प्रमुख सल्लाहकार रामानुज स्वामीले विराटनगरमा डिजिटल धार्मिक संग्रालय चाढै सञ्चालनमा ल्याउनेगरी काम भइरहेको बताए । कुनैपनि किसिमका धार्मिक अड्चनहरुलाई विज्ञमार्फत विमर्श गरी सनातनीहरुका समस्या सुल्झाइने बताए । उनले नेपालमै पहिलो संग्रालय विराटनगरमा बन्न लागेको दावी गरे ।
त्यस्तै विराटनगर स्थित पाञ्चाली मन्दिरका पिठाधिस अच्युत स्वामीले धर्मका नाममा केही मानिसहरुले पूर्ण अध्ययन नगरी दिएका बक्तव्यहरुले समस्या सिर्जना गरेको वताए । नबुझेका कुरा बरु नबोल्न पनि उनले अनुरोध गरे । धार्मिक विषयमा भइरहेका टिकाटिप्पणीलाई सुधार गरेर आधिकारिक धारणा सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए । यसका लागि कर्मकाण्डमा सहभागी गुरुहरुले शास्त्र अध्ययन गरी बुझाउन पनि आग्रह गरे ।
नयाँ बृन्दाबनका दिनबन्धु शास्त्रीले घाटहरुमा लास लानु अगावै चिता बनाएर राखिनु गलत भएको बताए । धेरै घाटहरुमा यो प्रचलन देखियो, यसमा धार्मिक गुरुहरुले तत्काल रोक्नुपर्छ । उनले भने, “चिता वनाएर स्वागत गर्ने काम राम्रो होइन,यो अनिष्टको संकेत हो ।”
यस्तै परिषद्को वार्षिक साधारणसभा एवं अधिवेशन आजै सम्पन्न हुने सचिव कौशल ढुङ्गेलले जानकारी दिए । उनका अनुसार नयाँ कार्यसमितिको चयन आजै राती वा भोलीसम्ममा टुङ्गो लाग्ने छ ।
कार्यक्रममा गुरुहरु भवानी निरौला,यौगेश भण्डारी बराह ,गोपालशरण व्रह्मचारी,धार्मिक अभियन्ता जनक काफ्ले,धार्मिक अभियन्ता तथा पत्रकार कौशल निरौला लगायतको सहभागिता रहेको थियो ।