
काठमाडौं ,२३ मंसिर। जेनजी आन्दोलन भड्काएको आरोपमा पक्राउ परेका टिओबी समूहका तेन्जिङ दावा लामा धरौटीमा रिहा भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले ५ लाख २० हजार रुपैयाँ धरौटीमा उनलाई छाडेको हो । हाल उनी छुटिसकेका छन् ।प्रहरीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालयले आइतबार उनीविरुद्ध लिखत किर्ते र लागुऔषधसम्बन्धी कसुरमा अभियोग दायर गरेको थियो। उनले देखाएको नागरिकता समेत नक्कली भएको थियो । उनले आफ्नो नागरिकतामा बुबा भनेर उल्लेख गरेका व्यक्तिको अगाडी लग्दा दुवैले एकअर्कालाई नचिनेको खबरसमेत बाहिरिएका थिए ।
उनीविरुद्धको लिखत किर्तेमा ५ लाख रुपैयाँ र लागु औषधको मुद्दामा २० हजार रुपैयाँ धरौटी माग भएको हो । लामा असोज २६ गते काठमाडौं प्रहरी परिसरबाट बिजुलीबजारको पुलमा पेस्तोलसहित देखिएको फोटो र भिडियो, जुन सामाजिक सञ्जालमा भाइरल भएपछि पक्राउ परेका थिए । तर, अनुसन्धानमा पेस्तोल नक्कली र भिडियो पुरानो भएको पुष्टि भएको थियो । यसैबीच, प्रहरीले तेन्जिनको बौद्धस्थित निवासमा खानतलासी लियो र त्यहाँबाट लागुऔषध गाँजा बरामद ग¥यो । यसपछि मुद्दा अभद्रबाट लागुऔषध र लिखत किर्तेमा परिवर्तन भएको थियो ।