
विराटनगर ,१३ पुस । नेपाली कांग्रेसले विभिन्न समयमा पार्टी परित्याग गरेका नेता कार्यकर्ताहरूलाई फर्किन आह्वान गरेको छ ।
कार्यसम्पादन समितिको बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेकाहरूलाई पार्टीमा फर्कन आह्वान गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले पार्टी परित्याग गरेका नेता–कार्यकर्तालाई पार्टीमा फर्कन खुला आमन्त्रण गर्ने निर्णय गरेको छ । “विगतमा विभिन्न कारणले पार्टी परित्याग गरी स्वतन्त्र बनेका वा अन्य दल रोजेर सक्रिय भएका साथीहरूलाई नेपाली कांग्रेसमा फर्कन केन्द्रीय कार्यसम्पादन समितिको बैठक हार्दिक आह्वान गर्दछ,” उनले बताए ।
बैठकको निर्णयअनुसार पार्टीका तल्ला तहका समितिहरूलाई परिपत्र गरी फर्कन चाहनेहरूलाई क्रियाशील सदस्यता प्रदान गर्दै आवश्यक जिम्मेवारीसमेत दिने व्यवस्था गरिनेछ । यसका साथै विभिन्न पेशा, व्यवसाय तथा समाजका विविध क्षेत्रमा क्रियाशील व्यक्तिहरूलाई पनि पार्टीमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको छ ।