
काठमाडौँ,२९ पुस। नेपाली कांग्रेसको विधान महाधिवेशनको दोस्रो दिनको बन्द सत्र मंगलबार बिहान ८ बजे सुरू हुने भनिएको थियो, तर नेतृत्व तहको त्रिपक्षीय वार्ताका कारण ढिला भएको छ ।
सभापति शेरबहादुर देउवा, डा. शेखर कोइराला र विशेष महाधिवेशन पक्षधर समूह बालुवाटारमा सहमतिको प्रयासमा व्यस्त छन्। यसैबीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा ढिलो भृकुटीमण्डप पुगेका थिए ।वार्ताको असरले महाधिवेशनको निर्धारित कार्यतालिका प्रभावित भएको छ भने प्रतिनिधिहरू बन्द सत्रको प्रतीक्षामा छन्।
त्यसैगरी, बिहान ११ बजेका लागि तय गरिएको केन्द्रीय कार्यसमिति बैठक पनि सरेर दिउँसो १ बजे बस्ने गरी समय परिवर्तन गरिएको छ। मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी, सदस्य र सातै प्रदेशका सभापतिलाई नयाँ समयअनुसार उपस्थित हुन अनुरोध गरेका छन्। विशेष महाधिवेशन र संस्थापन पक्षबीच सहमति नजुटे आगामी दिनमा विधान महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्ने सम्भावना रहेको छ ।