
विराटनगर,१६ फाल्गुन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा कांग्रेस बलियो भए मात्रै धर्म संस्कृति र सनातन परम्परा जोगिने बताएका छन् । मोरङ-६ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका कोइरालाले कांग्रेस जिते मात्रै त्यो सम्भव हुने बताएका हुन् ।
धार्मिक युवा अभियन्ता,जेनजी उमेर समुहका किशोर तथा हिन्दु धार्मिक भजन मण्डलीहरु संग शनिबार विराटनगरमा भएको चुनाव केन्द्रित छलफल कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । उनले वीपी कोइरालाले मेलमिलापको नीति लिएर देशलाई कठिन मोडवाट बचाएको स्मरण गर्दै जनभावना अनुरुपनै आफुले धर्म संस्कृति र सनातन परम्पराको रक्षामा अडिग रहने बताए ।
कोइरालाले सबै जातजातिको मौलिकता, धर्म, संस्कृति र आस्था बाँचेमात्रै राष्ट्र र लोकतन्त्र बलियो हुने बताए ।जसमा बहुसंख्यक हिन्दु धर्मको रक्षा संगै सवैखाले ‘धर्म, संस्कृति, संस्कार र सभ्यतामाथिको प्रहार रोक्न कांग्रेसको जित जरुरी भएको बताए । उनले भने, ‘धर्म र संस्कृतिमाथिको प्रहार रोक्न नसके राष्ट्रियता पनि धरासयी हुन्छ । जुन कुरा म आफै गर्छु भनेर हिडिरहेको छु भने तपाईहरु किन हतार गर्नुहुन्छ । म जितेर गएपछि पहिलो मुद्दा यही हुन्छ यसर्थ कांग्रेसले चुनाव जित्नु जरुरी छ ।’

यस्तै नेपाली कांग्रेसका प्रभावशाली युवा नेता भीम पराजुलीले देश जटिल मोडमा रहेकाले पुरानो ,देश बुझेको पार्टीका उम्मेद्वारलाई जिताउन आग्रह गरे । उनले युवा नेतृत्व समेत कांग्रेसमा रहेकाले चिन्ता नगर्न आग्रह गरे । देशलाई विषम परिस्थितीवाट निकाल्न कांग्रेस वाहेक कसैले गर्न नसक्ने बताए ।
सामाजिक अभियन्ता विकास भण्डारीको संयोजकत्वमा भएको कार्यक्रममा कांग्रेसका युवा नेता अरुण न्यौपाने,राम ढकाल ,देवचन्द्र घिमिरे ,प्रविन जोशी, लगायतको उपस्थिती रहेको थियो ।