
एजेन्सी। इरानको ग्यास क्षेत्रमा इजरायलले गरेको पछिल्लो आक्रमणपछि क्षेत्रीय तनाव झनै चर्किएको छ। जेरुसेलमको आकाशमा ठूला विस्फोटका आवाज सुनिएसँगै यस घटनाले विश्व सुरक्षा स्थितिप्रति चिन्ता बढाएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले उक्त सैन्य कारबाही इजरायलले आफ्नै निर्णयमा गरेको स्पष्ट पारेका छन्। उनले यस संघर्षलाई केवल इजरायलको मात्र नभई विश्वव्यापी सुरक्षासँग जोडिएको गम्भीर विषयका रूपमा प्रस्तुत गरेका छन्।
सम्बोधनका क्रममा नेतान्याहुले इजरायली जनताको धैर्य र साहसको प्रशंसा गर्दै आगामी दिनमा अझै मजबुत रहनुपर्ने आवश्यकता औंल्याए। उनले अन्तर्राष्ट्रिय समुदायलाई पनि सजग रहन आग्रह गर्दै यो विषयलाई हल्का रूपमा लिनु खतरनाक हुन सक्ने बताए।
उनका अनुसार यदि समयमै यस्तो कदम चालिएको नभएको भए इरानबाट आउने सम्भावित आणविक हतियारयुक्त मिसाइलले ठूलो विनाश निम्त्याउन सक्थ्यो। उनले अमेरिकी नागरिकहरूलाई समेत सचेत गराउँदै यस संकटको प्रभाव विश्वभर फैलिन सक्ने संकेत दिएका छन्।
यसैबीच नेतान्याहुले इजरायल–अमेरिका सम्बन्धमा कुनै मतभेद नरहेको दाबी गर्दै दुई देशबीच दूरी बढेको भन्ने समाचारलाई असत्य र भ्रमपूर्ण भनेका छन्।