Birat Post बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

सन्तोष पोखरेल

कुनै विषय वा वस्तुको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययनको ज्ञानलाई विज्ञान भनिन्छ । विज्ञान पनि एक व्यवस्थित ज्ञान हो जसले विश्व ब्रह्माण्डका बारेमा परीक्षणयोग्य ब्याख्या र भविष्यवाणीहरूलाई स्थापित र व्यवस्थित बनाउँन विभिन्न अध्ययन र अनुसन्धानको माध्यम बाट सफल परिक्षण गर्दछ । विज्ञान हाम्रो जीवनको लगभग हरेक पक्ष संग सम्बन्धित हुन्छ । विज्ञान मनुष्य जातिको अति आबस्यक साझा बिषय हो ।

विज्ञान मानव इतिहासको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो । विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वास्तवमा भन्नुपर्दा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ । यसमा भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान पर्दछन । बिज्ञान प्रकृति संग सम्वन्धीत रहेको हुन्छ । प्रकृतिको अधिकतम र समुचित प्रयोगलेमात्र मानब जीबन सफल बन्न सक्छ ।

विज्ञानमा बैज्ञानिकहरुले पहिला अवलोकन गर्छन । अनि त्यो किन कसरी भयो भनी प्रश्न गर्छन् । त्यसपछि परिकल्पना गर्न शुरु गर्छन् । त्यो परिकल्पना अनुसार धेरै पटक प्रयोग वा परीक्षण गरेपछि अन्त्यमा गएर बैज्ञानिक सिध्दान्त बन्छ । बिज्ञान बिषयलाई कठिन बिषयको रुपमा बुझ्नु र बुझाइनु नै आजको प्रमुख चुनौती हो । त्यसमा पनि बिज्ञान बिषयलाई बिद्यालय शिक्षाको तल्लो कक्षाहरुमा उच्च तहका सिद्धान्त सिकाउन खोजेको कारणले नै आज यो बिसय प्रति बालबालिका हरुले कठिनता महसुश गरेको हुनुपर्दछ l सानो कक्षाहरुमा बालबालिकाहरुलाई तर्क गर्ने, अभ्यासमा अभ्यस्त हुने र खोजमुलक कार्यको माध्यमबाट सिकाउने पाठ्यक्रम बन्ने हो भने यो बिषय कठिन बिषय को रुपमा नभई रमाइलो बिषयको रुपमा बालबालिकाहरुले सजिलै स्विकार्छन ।
नेपाल सरकारले राष्ट्रिय क्षमता अभिवृद्धिको लागि मुलुकमा विज्ञान तथा प्रविधि सम्बन्धी जनशक्ति, स्रोत र साधनको विकास एवं उपयोग गर्न पूर्वाधारहरूलाई अधिकतम परिचालन गर्न अत्यावश्यक भएको तथ्यलाई मनन गर्दै विज्ञान तथा प्रविधिको अनुसन्धान तथा विकास, शिक्षण, प्रशिक्षण, व्यवस्थापन, सेवा प्रदान आदि कार्यमा संलग्न सरकारी तथा गैरसरकारी निकाय एवं संघसंस्थाका कृयाकलापहरूलाई समन्वयात्मक ढंगबाट एक निर्दिष्ट दिशामा प्रवाहित गरी राष्ट्रको अपेक्षित लक्ष्य हासिल गर्न २०६१ सालमा “विज्ञान तथा प्रविधि नीति, २०६१” जारी गरेको छ ।

विज्ञान तथा प्रविधिको समुचित विकास तथा प्रयोगद्वारा जीवनस्तरमा अभिबृद्धि गरी मुलुकलाई एक समुन्नत, गतिशील र समृद्ध राष्ट्रको रूपमा स्थापित गर्ने सरकारको परीकल्पना र विज्ञान तथा प्रविधि क्षेत्रमा ज्ञान, सीप र दक्षताको समुचित विकास र उपयोगद्वारा राष्ट्रिय क्षमताको अभिवृद्धि गर्ने, विज्ञान तथा प्रविधिको माध्यमबाट प्राकृतिक स्रोत र साधनहरूको दिगो रूपमा उपयोग गरी जनताको सामाजिक तथा आर्थिकस्तर वृद्धि एवं वातावरणको संरक्षण र सम्वद्र्धन गर्दै गरिवी निवारणका कार्यमा सघाउ पुर्याउने, तथा विज्ञान तथा प्रविधिको उच्चतम विकास गरी मुलुकलाई प्रतिस्पर्धात्मक स्थितिमा पुर्याउने उद्धेश्य का साथ सरकारले १६ वटा निति ८ वटा रणनिति र ५ वटा कार्यनिति तय गरेको छ ।

सरकारी रणनीतिमा विज्ञान तथा प्रविधिको अल्पकालीन तथा दीर्घकालीन अवधारणा तयार गरी सो को आधारमा योजना तर्जुमा, कार्यान्वयन तथा मूल्यांकनको प्रभावकारी व्यवस्था गरिने , विद्यमान स्रोत एवं साधनको अधिकतम उपयोग गर्दै कृषि, वन, जलस्रोत, शिक्षा, स्वास्थ्य, उद्योग, वातावरण, सूचना प्रविधि, इन्जिनियरिङ्ग, जैविक प्रविधि, अन्तरिक्ष प्रविधि, परमाणु विज्ञान, खगोल विज्ञान आदि विविध क्षेत्रमा हुने अध्ययन, अनुसन्धान तथा विकास र प्रशिक्षण कार्यहरू समन्वयात्मक एवं प्रभावकारी रूपबाट सञचालन गरिने, भौतिक, मानवीय तथा प्राज्ञिक पक्षको सृजनात्मक रूपले संस्थागत विकासका माध्यमद्वारा क्षमता अभिवृद्धि गरिने, विज्ञान तथा प्रविधि क्षेत्रको विकासको लागि भौतिक पूर्वाधार तथा संरचनाहरू निर्माण गरी सोको अधिकतम उपयोग गर्ने र वैज्ञानिकहरूको उच्चमनोवल बढाउन आवश्यक व्यवस्था मिलाइने, सरकारले प्रत्येक वर्ष विज्ञान तथा प्रविधि क्षेत्रमा सम्बन्धित निकायहरूबाट अनुसन्धान तथा विकास कार्यको लागि कार्यक्रम बनाउन लगाइ सोको आधारमा रकम छुट्याउने व्यवस्था गर्ने, स्थानीयतहसम्म स्थानीय स्रोत र साधनको अधिकतम परिचालन गर्न आवश्यक प्रविधिको विकास कार्यमा सरकारी, गैरसरकारी, अन्तर्राष्ट्रिय संघसंस्था, निजी क्षेत्र तथा शैक्षिक संस्थालाई सरिक गराइने,आवश्यकता अनुसार परम्परागत, स्वदेशी तथा विदेशी प्रविधिको समायोजन तथा सुधारद्वारा उपयुक्त प्रविधिको विकास गरी मुलुकलाई आवश्यक पर्ने प्रविधिको क्षेत्रमा आत्मनिर्भर बनाउने तर्फ आवश्यक काम गरिने, विज्ञान तथा प्रविधि क्षेत्रमा द्विपक्षीय र बहुपक्षीय सहयोग सम्झौता गरी मुलुकको वैज्ञानिक तथा प्राविधिक क्षमता अभिवृद्धि गर्न विशेष पहल गरिने भनिएको भएतापनि यसका कार्यनीति मा भएजस्तो कार्य हरु गर्न गराउन पर्याप्त लगानी र कार्य गरेको पाइएको छैन ।

कार्यनीति मा मौजुदा पूर्वाधारहरूलाई आवश्यकता अनुरूप सुदृढीकरण र सुधार गरी अधिकतम परिचालन गरिनेछ , यसैगरी विज्ञान तथा प्रविधि क्षेत्रको एकीकृत विकासको लागि केन्द्रीय र स्थानीय स्तरमा आवश्यक संस्थागत विकासमा जोड दिइनेछ विद्यमान प्रयोगशालाहरूको सुदृढीकरण गर्नुका साथै विज्ञान तथा प्रविधि सम्बन्धी सन्दर्भ प्रयोगशाला (Reference Laboratory) हरू र केन्द्रीय प्रयोगशालाहरूको क्रमशः विकास गरिनेछ भनिएको भएतापनि निती जारी भएको १० वर्ष बितिसक्दा पनि कयौ बिद्यालय क्याम्पस तथा तथा विज्ञानका प्रयोगात्मक अनुसंन्धान केन्द्रहरुको अवस्था दयनियनै छ ।

यसैगरी जनशक्ति विकास कालागि विश्वविद्यालयहरू तथा विश्वविद्यालय अनुदान आयोगसंग समन्वय राखी विज्ञान तथा प्रविधि शिक्षाको गुणस्तर सुधार गर्नुका साथै समयानुकूल विषयहरू समावेश गरी स्तरीय जनशक्ति उत्पादन गरिनेछ । विज्ञान तथा प्रविधिको क्षेत्रमा व्यवसायिक शिक्षा तथा तालीम प्रदान गर्ने संस्थाहरूलाई राष्ट्रिय माग अनुरूपको शिक्षा तथा तालीम उपलब्ध गराउन सक्षम बनाई दक्ष तथा गुणस्तरीय जनशक्ति उत्पादन गरिनेछ । विज्ञान तथा प्रविधि क्षेत्रमा काम गर्ने कर्मचारीहरूका लागि छुट्टै विज्ञान तथा प्रविधि सेवाको व्यवस्था गरिनेछ । उत्कृष्ट वैज्ञानिकहरूलाई दक्षता हासिल गरेको क्षेत्रमा कार्य गर्न पर्याप्त अवसरहरू उपलब्ध गराई बढ्दो प्रतिभा पलायन रोक्न आवश्यक वातावरणको सृजना गरिनेछ । युवा प्रतिभालाई विज्ञान तथा प्रविधि सम्बन्धी अध्ययन, अनुसन्धान तथा विकास कार्यमा आकर्षित गर्न वृत्ति विकासका अवसरहरूको सृजना गरिनेछ । विज्ञान तथा प्रविधिसंग सम्बन्धित उत्कृष्ट संघसंस्था तथा वैज्ञानिक एवं प्राविधिज्ञहरूलाई कदर एवं पुरस्कृत गरिने छ । वैज्ञानिक तथा प्राविधिज्ञहरूको मनोवल उच्च पार्दैं उनीहरूको क्षमता र सीपको अधिकतम उपयोग गरिनेछ भनि एउटा शक्तिशालि र सुन्दर दस्ताबेज तयार गरिएको भएपनि सो अनुसार काम हुन नसक्दा देशका बिध्यालय तथा बिश्वबिद्यालयहरुले पर्याप्त दक्ष बिज्ञान शिक्षक पाउन सकेको अबस्था छैन भने अधिकांश युवाहरुलाई देशमै केहि गर्न उत्प्रेरित गर्ने अनुसन्धानकालागि कुनै अनुदान तथा सहयोग नगर्नाले प्रतिभा पलायनको अवस्था विद्यमान छ ।

कृषिक्षेत्रको विकास गरी राष्ट्रिय खाद्य सुरक्षा (National Food Security) को प्रत्याभूति गर्ने तथा कृषि उत्पादनमा आधारित उद्योगहरूको प्रवद्र्धनमा टेवा पु¥याउने,प्रतिरोधात्मक सेवालाई विशेष जोड दिई स्तरीय जनस्वास्थ्य सेवा एवं ग्रामीण क्षेत्रमा सरल र सुलभ हुनेगरी स्तरीय जनस्वास्थ्य सेवा उपलब्ध गराउने,वनजंगलको संरक्षण र विस्तारमा वातावरण संरक्षण पक्षलाई समेत जोड दिई वन सम्पदाको उचित लेखाजोखा (Resource Assessment) गरी दिगो रूपले वन व्यवस्थापन गर्नुको साथै वन सम्पदामा आधारित उद्योगहरूको प्रवद्र्धनमा टेवा पुर्याउने, स्थानीय स्रोतमा आधारित नविकरणीय ऊर्जा प्रविधिको विकास तथा उपयोगमा अभिवृद्धि गर्ने, उपयुक्त स्थानीय स्वदेशी निर्माण सामग्रीको उपयोगमा जोड दिई निर्माण प्रविधिको आवश्यक सुधारद्वारा उपयुक्त आवास तथा अन्य निर्माण कार्यमा आत्मनिर्भर हुन सहयोग पुर्याउने, आवश्यक अनुसन्धान, विकास तथा विस्तार कार्यलाई प्रोत्साहन दिई मुलुकमा ग्रामीण, लघु, साना तथा ठूला उद्योगहरूको प्रवद्र्धन गर्ने, सूचना प्रविधि, जैविक प्रविधि, अन्तरिक्ष प्रविधि एवं आणविक प्रविधि जस्ता उच्च प्रविधिहरूमा समेत राष्ट्रिय क्षमता अभिवृद्धि गर्दै यस्ता प्रविधिहरूबाट हुनसक्ने द्रूततर विकास हासिल गर्ने जस्ता महत्वाकांक्षी कार्यनीति तय भएको भएतापनि यसको लागि ठोस पहल भएको छ जस्तो देखिएको छैन ।

के गर्नेत अब ?
निश्चय पनि विज्ञान र प्रविधिसम्बन्धी अध्ययन–अनुसन्धान भनेको छोटो समयमा पूरा हुने कुरा होइन । यसका लागि निकै लामो समय, श्रम र लगानीको आवश्यकता पर्दछ । त्यसमाथि विज्ञान प्रविधिको क्षेत्रमा राज्यले गर्ने लगानी अत्यन्त कम रहेको कतिपय बुद्धिजीवीको धारणा आफ्नो ठाउँमा छँदै छ । तर एउटा यथार्थ र व्यावहारिक कुराचाहिँ के पनि हो भने, नेपालजस्तो गरिब मुलुकका लागि राज्यले आफ्नो राष्ट्रिय बजेटको ठूलो अंश केवल विज्ञान प्रविधिको क्षेत्रमा मात्र भनेर छुट्याउन सक्तैन । त्यसैले यसका लागि सामान्य नेपाली जनताको आधारभूत आवश्यकीय वस्तु परिपूर्ति गरी उनीहरूको जीवनस्तर माथि उकास्न सघाउ पुग्ने क्षेत्रहरू– कृषि र कृषिमा आधारित आधुनिक उपकरण, जैविक प्रविधिको संरक्षण र विकास, वन र वनस्पतिजन्य औषधिको पहिचान एवम् प्रशोधन, वैकल्पिक ऊर्जा स्रोत– सौर्यऊर्जा, वायु ऊर्जा, बायो ग्यास आदि क्षेत्रमा बढी केन्द्रित रहेर आफ्नो लगानी बढाउन सकियो भने यसबाट देशको सामाजिक, आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने ठहर विज्ञहरूको रहेको छ ।

नेपालको सन्दर्भमा भन्नुपर्दा कृषिक्षेत्रलाई आधुनिकीकरण तथा वैज्ञानिक कृषि प्रणालीलाई बढी महत्व दिइनु आवश्यक हुन्छ । यसका लागि स्थानीय कच्चा पदार्थलाई नै अधिकतम प्रयोग गर्न सकिने किसिमको निर्माण क्षेत्रको प्रविधिलाई बढावा दिनुपर्दछ । त्यसपछि वैकल्पिक ऊर्जास्रोत सौर्यशक्तिलाई अधिकतम उपयोग गर्ने तथा प्रशोधन वा अर्धप्रशोधन, चिस्याउने, सुकाउने, संरक्षण गर्नेजस्ता विज्ञान प्रविधिको माध्यमबाट गर्नुपर्ने अन्य कार्यहरूलाई पनि प्राथमिकताका साथ अघि बढाउनु आवश्यक छ ।
विज्ञान प्रविधिको सन्दर्भमा चर्चा गर्दा, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को स्थापना वि.सं. २०३९ मंसिर २० गते भएको हो । नास्टले मुख्यतया मुलुकमा विज्ञान–प्रविधिको विकासका निमित्त उपयुक्त वातावरणको सृजना गर्ने, राष्ट्रका लागि आवश्यक विज्ञान–प्रविधिसम्बन्धी नीति एवम् योजना तर्जुमा गर्ने र वैज्ञानिक तथा प्राविधिक क्षमताको अभिवृद्धिमा उत्प्रेरकको भूमिका निर्वाह गर्ने गरेको छ । नास्टका गतिविधिहरू मुख्यतः विज्ञान प्रविधिसम्बन्धी क्षेत्रकै अध्ययन र अनुसन्धानमा केन्द्रित छन् । नास्टद्वारा सञ्चालित यस्ता अनुसन्धानमूलक गतिविधिहरूमा वैकल्पिक ऊर्जा जस्तै– सौर्यऊर्जा, वायुऊर्जा, हरित ऊर्जा, बायो ग्यास, औषधिजन्य वनस्पति, प्लास्टिकबाट इन्धन निकाल्ने प्रविधि आदि रहेका छन् । तर अब नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा मात्र सिमित रहने हो भने नेपालको बैज्ञानिक क्षेत्र फराकिलो बन्न सक्दैन । यसलाई एउटा अभिभाबकिय संस्थाको रुपमा अगाडी लग्दै नेपालका केहि बिद्यालय तथा क्याम्पस हरुलाई छनौट गरि यिनीहरुको क्षमता बिकास गर्दै सुक्ष्म तहबाट बिज्ञान को बिकासमा लाग्नु जरुरि छ l हरेक बिध्यालायामा अब बालबालिका हरुकालागी अनुशन्धान तथा विकास गर्ने गरिका टिंकर ल्याब हरुको विकाश गरिनु पर्दछ ।

तथापि हाम्रो जस्तो अल्पविकसित मुलुकको हकमा भने आफ्नै स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गरी विज्ञान प्रविधिको विकासद्वारा नयाँ आर्थिक समृद्धितर्फ अग्रसर रहनुपर्ने खाँचो देखिएको छ । हाम्रो जस्तो भौगोलिक विकटता र प्राकृतिक विविधता भएको मुलुकमा विश्वबजारबाट आयातीत सबै प्रविधि उपयुक्त र उपलब्धिमूलक हुन्छ भन्न सकिँदैन । तिनलाई मुलुकको भौगोलिक स्थिति र वातावरण सुहाउँदो किसिमले परिवर्तन एवम् परियोजनपरक बनाउनु आवश्यक हुन्छ । जुन राष्ट्रको विज्ञान र प्रविधिको क्षमतामा नै निर्भर रहने कुरा हुन् । जुन कुरा बिद्यालय तह बाटै सुरु गरिनु पर्दछ l विज्ञानमा सबैकुरा सिक्ने गरिको पाठ्यक्रम भन्दापनि देशको आबश्यकता पहिचान गरि सोकोआधारमा तयार गरिएका विज्ञानका बिषयबस्तुहरु मात्र सिक्नेगरिको पाठ्यक्रम निर्माण गरि लागु गर्ने र सिकेको कुरामा लगानी गर्न सरकारले अनुदान दिने व्यबस्थाको सुरुवात हुनु पर्दछ ।
( लेखक आदर्श माध्यमिक विद्यालय विराटनगरका प्रधानाध्यापक हुनुहुन्छ )
सन्दर्भ सामग्री
१. राजेशमान के.सी., विज्ञान प्रविधिको उपयोग र नास्ट, नेपाल समाचारपत्र
२. बिज्ञान तथा प्रबिधि नीति २०६१ नेपाल सरकार बिज्ञान तथा प्रबिधि मन्त्रालय

सम्बन्धित

ताजा अपडेट
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि खोलिने
मापसेका नाममा सडकमा ठिंग्याएर राख्नु अधिकारमाथिको हनन् होः रामहरि खतिवडा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल