काठमाडौं ,१ असार। आइतबारदेखि संयुक्त राज्य अमेरिकामा क्लबहरुको महासंग्राम अर्थात क्लब विश्वकप सुरु हुँदैछ । उद्दघाटन खेलमा लियोनल मेसीको इन्टर मियामीले साउदी क्लब अल अहलीको सामना गर्ने छ ।
परम्परागत सात टोलीको सानो ढाँचालाई तोड्दै पहिलो पटक ३२ क्लबहरू सहभागी हुने यो फिफा क्लब विश्वकप विश्व फुटबलको इतिहासमा एक कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ । यसका साथैं अबदेखि फिफा क्लब विश्वकप प्रत्येक चार–चार वर्षमा एक पटक आयोजना हुनेछ ।
यो नयाँ संस्करणको फिफा क्लब विश्वकपमा छ वटा अन्तर्राष्ट्रिय फुटबल महासंघहरू एएफसी, क्याफ, कोन्काकाफ, कोन्मेबोल, ओएफसी, र युइएफएबाट ३२ क्लबहरूको सहभागी रहेको छ । यी क्लबरुलाई सन् २०२१ देखि २०२३–२४ सम्मको चार सिजनको प्रदर्शनका आधारमा छनोट गरिएका हुन् ।
सहभागी ३२ टोलीहरूलाई चार–चार वटा गरी आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक टोलीले राउन्ड–रोबिनको ढाँचामा तीन खेल खेल्नेछ । प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । नकआउट चरणपछि राउन्ड अफ १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलको खेल खेलाइने छ । यस प्रतियोगितामा तेस्रो स्थानका लागि प्ले–अफ खेलाइने छैन ।
चार सिजनको च्याम्पियन्स लिगको प्रदर्शन र युइएफएको क्लब गुणांक वरीयताका आधारमा युरोपबाट रियल म्याड्रिड, म्यानचेस्टर सिटी, चेल्सी, पेरिस सेन्ट–जर्मेन, बायर्न म्युनिख, इन्टर मिलान, बोरुसिया डर्टमण्ड, युभेन्टस, एटलेटिको म्याड्रिड, बेन्फिका, पोर्टो, र एफसी साल्जबर्ग सहभागी छन् ।
यसैगरी दक्षिण अमेरिकाबाट पाल्मिरास, फ्लेमेन्गो, फ्लुमिनेन्स, बोटाफोगो, रिभर प्लेट र बोका जुनियर्स सहभागी छन्। एसियाबाट अल हिलाल, उरावा रेड डायमन्ड्स, अल ऐन र उल्सान एचडी सहभागी छन् । अफ्रिकाबाट अल अहली, वायदाद, एस्पेरेन्स डे ट्युनिस र मामेलोडी सन्डाउन्स सहभागी छन् । कोन्काकाफबाट मोन्टेरी, पचुका, सियाटल साउन्डर्स र लस एन्जलस एफसी सहभागी छन् । ओशिनियाबाट अकल्याण्ड सिटी र लियोनल मेसी आबद्ध इन्टर मियामी सहभागी छन् ।
यो प्रतियोगितामा ६३ वटा खेलहरू खेलाइने छ । यसका लागि अमेरिकाले ११ शहरका १२ रंगशाला पूर्ण रुपमा तयार गरिसकेको छ । १ अर्ब अमेरिकीको यो प्रतियोगितामा विजेता टोलीले १२५ मिलियन डलर पाउने छ । यसका साथैं सहभागी मात्रै हुँदा पनि युरोपेली क्लबहरूले ९ दशमलब ९ देखि २९ दशमलब ६ मिलियन युरो पाउने छन् ।
यस्तै समूह चरणको प्रत्येक खेल जिते बापत १ दशमलब ५ मिलियन युरो र बराबरी गरे ० दशमलब ८ मिलियन युरो पाउँने छ । यसैगरी राउन्ड अफ १६ मा पुगेका क्लबले ५ दशमलब ८ मिलियन युरो, क्वार्टरफाइनल पुगेका क्लबले १० दशमलब १ मिलियन युरो, सेमिफाइनल पुगेका क्लबले १६ दशमलब २ मिलियन युरो र फाइन पुगेका क्लबले २३ दशमलब २ मिलियन युरो पाउने छन् ।
बार्सिलोना, लिभरपुल र नापोली किन छनौट भएनन् ?
फिफाको नियमअनुसार, च्याम्पियन्स लिगको चार सिजनको प्रदर्शनमा आधारमा प्रत्येक देशबाट अधिकतम दुई टोली मात्र सहभागी हुन पाउँछन् । सोही कारण इङ्गल्याण्डबाट सन् २०२३ को च्याम्पियन्स लिग विजेता म्यानचेस्टर सिटी र सन् २०२१ को च्याम्पियन्स लिग विजेता चेल्सीले स्थान बनाउँदा लिभरपुल, आर्सनललगायत अन्य बलिया टोलीले सहभागी हुन पाएनन् ।
यसैगरी स्पेनबाट रियल म्याड्रिड र एटलेटिको म्याड्रिड छनोट हुँदा बार्सिलोना छनौट हुनबाट बञ्चित रह्यो किनकी पछिल्ला केही वर्ष बार्सिलोनाको प्रदर्शन निकै खस्किएको थियो । यस्तै, इटालीबाट इन्टर मिलान र युभेन्टसले स्थान बनाउँदा नापोली र एसी मिलान छनौट हुनबाट बञ्चित भएका छन् ।