Birat Post आइतबार, आषाढ ०१, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,१ असार। आइतबारदेखि संयुक्त राज्य अमेरिकामा क्लबहरुको महासंग्राम अर्थात क्लब विश्वकप सुरु हुँदैछ । उद्दघाटन खेलमा लियोनल मेसीको इन्टर मियामीले साउदी क्लब अल अहलीको सामना गर्ने छ ।

परम्परागत सात टोलीको सानो ढाँचालाई तोड्दै पहिलो पटक ३२ क्लबहरू सहभागी हुने यो फिफा क्लब विश्वकप विश्व फुटबलको इतिहासमा एक कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ । यसका साथैं अबदेखि फिफा क्लब विश्वकप प्रत्येक चार–चार वर्षमा एक पटक आयोजना हुनेछ ।

१ अर्ब अमेरिकी डलरको पुरस्कार राशि रहेको यो प्रतियोगितामा विश्वका उत्कृष्ट क्लबहरूको सहभागिता रहेको छ।फिफा क्लब विश्वकपमा लियोनल मेसीको इन्टर मियामी पनि सहभागी रहेको छ । आयोजक राष्ट्रको प्रतिनिधिको रूपमा फिफाले मेसी आबद्ध इन्टर मियामीलाई स्थान दिएको हो । यसका साथै मियामीले मेजर लिग सकर र सपोर्टर्स शिल्ड पनि जितेको थियो । तर यता अर्को साउदी क्लब अल नासर छनोट हुन असफल भएपछि पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोले यो बहुप्रतिक्षित प्रतियोगिता गुमाउने भएका छन् । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोनाल्डोलाई भित्राउन हरसम्भव प्रयास गरेता पनि रोनाल्डोले अस्विकारपछि यो प्रतियोगितामा उनको उपस्थिती नहुने पक्का भएको हो ।

यो नयाँ संस्करणको फिफा क्लब विश्वकपमा छ वटा अन्तर्राष्ट्रिय फुटबल महासंघहरू एएफसी, क्याफ, कोन्काकाफ, कोन्मेबोल, ओएफसी, र युइएफएबाट ३२ क्लबहरूको सहभागी रहेको छ । यी क्लबरुलाई सन् २०२१ देखि २०२३–२४ सम्मको चार सिजनको प्रदर्शनका आधारमा छनोट गरिएका हुन् ।

सहभागी ३२ टोलीहरूलाई चार–चार वटा गरी आठ समूहमा विभाजन गरिएको छ । प्रत्येक टोलीले राउन्ड–रोबिनको ढाँचामा तीन खेल खेल्नेछ । प्रत्येक समूहका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । नकआउट चरणपछि राउन्ड अफ १६, क्वार्टरफाइनल, सेमिफाइनल र फाइनलको खेल खेलाइने छ । यस प्रतियोगितामा तेस्रो स्थानका लागि प्ले–अफ खेलाइने छैन ।

चार सिजनको च्याम्पियन्स लिगको प्रदर्शन र युइएफएको क्लब गुणांक वरीयताका आधारमा युरोपबाट रियल म्याड्रिड, म्यानचेस्टर सिटी, चेल्सी, पेरिस सेन्ट–जर्मेन, बायर्न म्युनिख, इन्टर मिलान, बोरुसिया डर्टमण्ड, युभेन्टस, एटलेटिको म्याड्रिड, बेन्फिका, पोर्टो, र एफसी साल्जबर्ग सहभागी छन् ।

यसैगरी दक्षिण अमेरिकाबाट पाल्मिरास, फ्लेमेन्गो, फ्लुमिनेन्स, बोटाफोगो, रिभर प्लेट र बोका जुनियर्स सहभागी छन्। एसियाबाट अल हिलाल, उरावा रेड डायमन्ड्स, अल ऐन र उल्सान एचडी सहभागी छन् । अफ्रिकाबाट अल अहली, वायदाद, एस्पेरेन्स डे ट्युनिस र मामेलोडी सन्डाउन्स सहभागी छन् । कोन्काकाफबाट मोन्टेरी, पचुका, सियाटल साउन्डर्स र लस एन्जलस एफसी सहभागी छन् । ओशिनियाबाट अकल्याण्ड सिटी र लियोनल मेसी आबद्ध इन्टर मियामी सहभागी छन् ।

यो प्रतियोगितामा ६३ वटा खेलहरू खेलाइने छ । यसका लागि अमेरिकाले ११ शहरका १२ रंगशाला पूर्ण रुपमा तयार गरिसकेको छ । १ अर्ब अमेरिकीको यो प्रतियोगितामा विजेता टोलीले १२५ मिलियन डलर पाउने छ । यसका साथैं सहभागी मात्रै हुँदा पनि युरोपेली क्लबहरूले ९ दशमलब ९ देखि २९ दशमलब ६ मिलियन युरो पाउने छन् ।

यस्तै समूह चरणको प्रत्येक खेल जिते बापत १ दशमलब ५ मिलियन युरो र बराबरी गरे ० दशमलब ८ मिलियन युरो पाउँने छ । यसैगरी राउन्ड अफ १६ मा पुगेका क्लबले ५ दशमलब ८ मिलियन युरो, क्वार्टरफाइनल पुगेका क्लबले १० दशमलब १ मिलियन युरो, सेमिफाइनल पुगेका क्लबले १६ दशमलब २ मिलियन युरो र फाइन पुगेका क्लबले २३ दशमलब २ मिलियन युरो पाउने छन् ।

बार्सिलोना, लिभरपुल र नापोली किन छनौट भएनन् ?

फिफाको नियमअनुसार, च्याम्पियन्स लिगको चार सिजनको प्रदर्शनमा आधारमा प्रत्येक देशबाट अधिकतम दुई टोली मात्र सहभागी हुन पाउँछन् । सोही कारण इङ्गल्याण्डबाट सन् २०२३ को च्याम्पियन्स लिग विजेता म्यानचेस्टर सिटी र सन् २०२१ को च्याम्पियन्स लिग विजेता चेल्सीले स्थान बनाउँदा लिभरपुल, आर्सनललगायत अन्य बलिया टोलीले सहभागी हुन पाएनन् ।

यसैगरी स्पेनबाट रियल म्याड्रिड र एटलेटिको म्याड्रिड छनोट हुँदा बार्सिलोना छनौट हुनबाट बञ्चित रह्यो किनकी पछिल्ला केही वर्ष बार्सिलोनाको प्रदर्शन निकै खस्किएको थियो । यस्तै, इटालीबाट इन्टर मिलान र युभेन्टसले स्थान बनाउँदा नापोली र एसी मिलान छनौट हुनबाट बञ्चित भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल