हेटौँडा ,२० श्रावण : नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँ आज बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुने पक्का भएको छ ।
मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले दिएको समयसीमा सोमबार दिउँसो २ बजे सकिएसँगै बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
नेता बानियाँले सोमबार दिउँसो प्रदेश प्रमुखसमक्ष बहुमतको आधार प्रस्तुत गर्दै मुख्यमन्त्री बन्ने औपचारिक दाबी पेस गरेका थिए । दिउँसो २ बजेसम्म अन्य कसैबाट दाबी नपरेपछि संविधानको धारा १६८ (२) अनुसार बानियाँको नियुक्ति प्रक्रिया अघि बढाइएको हो । उनलाई आजै शपथ गराउने तयारी गरिएको छ ।
यसअघि नेपाली कांग्रेस प्रदेश संसदीय दलको नेताका लागि भएको आन्तरिक प्रतिस्पर्धामा इन्द्र बानियाँसँग पराजित भएका बहादुरसिंह लामाले पदबाट राजीनामा दिएपछि नयाँ नेतृत्व चयन र मुख्यमन्त्री नियुक्तिको मार्ग खुलेको हो ।