
विराटनगर,४ पुष । पूर्व महासेनानी तथा जनादेश पार्टीका वरिष्ठ नेता माधवसुन्दर खड्काले ठूला पुराना दलहरुले कोर्स करेक्शन नगरेका कारण नयाँ दलहरुमा युवा पुस्ताको आकर्षण बढेको बताएका छन् । विराटनगरमा सञ्चारकर्मीहरुसंग बोल्दै उनले यस्तो बताएका हुन् ।
ठूला पुराना दलहरुले युवापुस्ताको मानसिकतालाई नबुझ्दा देश थप संकटतर्फ अग्रसर भएको दावी गरे । उनले भने, “युवा पुस्ताले विद्रोह नगरी उपाय थिएन । पुरानाले केही गर्दैनन् भन्ने भएपछि देशले विद्रोह खोज्यो र आज यो अवस्था आयो ।” अहिले पनि पुराना दलहरु सच्चिने छाटकाटमै छैनन् खड्काले भने,” एमाले महाधिवेशनले त्यही देखायो ,कांग्रेसमा पनि त्यही गति होला ।”
अहिलेको सरकार जेनजी आन्दोलन र जनताको भावनाविपरीत काम गरिरहेको भन्दै खड्काले भने ,”यही गतिमा यो सरकार हिडिरहे सहज स्थिति नहुन पनि सक्छ । हिजो नेताहरु जसरी भागे त्यसरी पनि भाग्न नसक्ने स्थिति आउन सक्छ ।”
उनले जेनजी संग संझौतामा भए वमोजिम सम्पती छानविन आयोग बनाएर नेताहरुको सम्पत्ति छानविन, नियमन गर्ने निकायमा भागवण्डावाट पुगेका मानिसहरुलाई हटाउनुपर्ने,भ्रष्टाचार नियन्त्रण र नियमन गरि सुशासन कायम गर्नुपर्ने, सहिद परिवार र घाइतेको माग पूरा गर्नुपर्ने बताए ।