
विराटनगर,१८ बैशाख । विराटनगरका शिक्षकहरुका लागि गरिएको तीनदिने क्षमता विकास कार्यशाला सम्पन्न भएको छ । विराटनगर -५ मा रहेको शिद्धकाली आधारभूत विद्यालयको आयोजना तथा विराटनगर- ३ मा रहेको पोखरिया माध्यमिक विद्यालयको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।
विराटनगरका १० वटा विद्यालयका ४२ जना शिक्षकहरुको सहभागिता रहेको कार्यशालामा लेखनकला र शिक्षण विधिका विषयलाई प्रमुख उठान गरिएको आयोजक विद्यालयका प्रधानाध्यापक भोजराज अधिकारीले जानकारी दिए । तीन दिन सम्म चलेको कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । समापन कार्यक्रममा बोल्दै विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखा अधिकृत कृष्ण भट्टराईले सिकेका कुराहरुलाई विद्यार्थी माझ प्रयोग गर्न र शैक्षिक सुधारमा लाग्न आग्रह गरेका थिए ।
यस्तै पोखरिया माविका प्रधानाध्यापक खेम भट्टराईले विद्यालय सुधारका लागि प्रधानाध्यापक संगै विद्यालयका शिक्षकहरुमा जागरुकता हुनुपर्ने औल्याए । सिकेका कुराहरु व्यवहारत लागू गर्न सके सक्षम विद्यार्थी उत्पादन गर्न सकिने वताए । प्रशिक्षक स्मारिका देवकोटाले लेखन कला र शिक्षण विधिका विषयमा तालिम प्रदान गरेकी थिइन् । कार्यक्रममा शिद्धकाली आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादव,पूर्व वडाध्यक्ष मीन कुमार आचार्य,समाजसेवी नवीन लुइटेल,विराट वहिरा माविकी सहायक प्राधानाध्यापक रमा रिजाल,पत्रकार तथा अभियानकर्मी कौशल निरौला लगायतको सहभागिता रहेको थियो ।
