Birat Post मंगलबार, बैशाख २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ बैशाख ।
स्थानीय तह निर्वाचनका लागि नेकपा (एमाले) बाट विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका युवा नेता सागर थापाले अहिले आफूले सिङ्गो विराटनगरको साथ खोजिरहेको बताएका छन् ।

चुनावी अभियान चलाउँदै मंगलबार बिहान विराटनगर महानगरपालिका–५ को रमाइलो टोलमा पुगेका थापाले अहिले महानगरका सबै बासिन्दाको साथ आफूलाई आवश्यक परिरहेको बताए । ‘प्रदेश १ को राजधानी विराटनगरमा अब केही गर्नुपर्छ भन्ने अठोटका साथ म उम्मेदवार बनेर मैदानमा आएको छु । विकास निर्माणदेखि सबै हिसाबले विराटनगरलाई उत्कृष्ट र नमूना शहर बनाउने मेरो योजना छ,’ उनले भने, ‘पछाडि पर्दै गएको ऐतिहासिक, राजनीतिक र औद्योगिक नगरीको गुमेको शाख फर्काउनु छ । म मेरो प्रतिवद्धताबाट कहिल्यै पछि हट्ने छैन ।’

थापाले आमविराटनगरबासीको आशा र उत्साहलाई निराशामा परिणत हुन नदिने कसम पनि खाएका छन् । ‘पदमा नहुँदासमेत मैले विराटनगरको विकासका लागि सकेजति प्रयास गरेको छु । अब चुनाव जिताएर ठाउँमा पुर्याउँदै काम गर्ने वातावरण बनाइदिनुस्,’ मतदातासँग आग्रह गर्दै उनले भने, ‘तपाईंहरुले साथ दिएर मलाई मेयरमा निर्वाचित गराएपछि विराटनगरले पछाडि फर्किएर हेर्न नपर्ने अवस्थाको सिर्जना गर्छु । जनताको दुःखमा सधैँ सहयात्री बनेर अघि बढ्ने छु ।’

सुकुम्बासी समस्या र डुबान विराटनगरको मुख्य चुनौती रहेको उनको भनाइ छ । साथै लामो समयसम्म विराटनगरका भित्री ठाउँमा विकास निर्माणले फड्को मार्न नसकेकोमा थापाले चिन्ता व्यक्त गरे । जनप्रतिनिधि बनेको ५ वर्षभित्रमा विराटनगरको मुहार फेर्ने आफ्नो महत्वपूर्ण योजना र अभियानमा साथ दिएर हातेमालो गर्न थापाले सबैमा आग्रह गरेका छन् ।

‘महानगरको यसअघिको नेतृत्वले चासो नदिँदा विराटनगर विकास निर्माणका हिसाबले पछि पर्यो । जनताले विकास खोज्दा जनप्रतिनिधिले वास्ता गरेनन्,’ उनले भने, ‘मलाई तपाईंहरूले अमूल्य मत दिएर विजयी गराउनुस् । मैले मत दिएर निर्वाचित गराएको जनप्रतिनिधिले उत्कृष्ट काम गर्यो भनेर तपाईंहरुले सधैँभरि प्रशंसा गरिरहने परिस्थितिको सिर्जना गर्छु ।’ आफूलाई भोट हालेर निर्वाचित गराउने जनताले कहिल्यै पनि पछुताउनु नपर्ने थापाको कथन छ ।

विराटनगरको माटोमा भिजेको र तल्लो स्तरसम्म परिचित रहेका कारण अब आफूले जनताको सेवक भएर काम गर्न चाहेको पनि उनले बताए । उनले भने, ‘विराटनगरकै बासिन्दा भए पनि म सुकुम्बासी हुँ । परिवारसहित म डेरामा बस्छु । जनप्रतिनिधि बनेपछि सुकुम्बासीलाई जग्गा दिलाएर उनीहरुलाई घर बनाइदिने छु । डुबानमुक्त विराटनगर बनाउने छु ।’

विराटनगरका जनताको समस्या सम्बोधन नगरी आफूले घर पनि नबनाउने उनले उद्घोष गरेका छन् । थापाले विराटनगरको शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइलगायतका क्षेत्रमा धेरै काम गर्न बाँकी रहेकाले त्यसमा आफू प्रतिवद्ध भएर अघि बढिरहेको बताए । भने, ‘मैले मेरो जीवन विराटनगरलाई समर्पित गरिसकेको छु । अबको समय विराटनगरलाई सर्वोत्कृष्ट शहर बनाउने अवसरका रूपमा सदुपयोग गर्छु ।’

निर्वाचन जितेपछि सबैको साथ लिएर विराटनगर बनाउने र जनताको आशालाई उत्साहमा परिणत गर्ने अभियानमा होमिने उनको भनाइ छ । ‘मैले प्रतिवद्धता बिर्सिएमा वा वाचा पूरा गर्न नसकेमा जनताले दिएको सजाय भोग्न तयार छु । मलाई जस्तोसुकै कारबाही गरे पनि हुन्छ,’ थापाले भने, ‘तपाईंका लागि विराटनगरको भाग्य र भविष्य निर्धारण गर्ने उत्कृष्ट समय वैशाख ३० गतेलाई तोकिएको छ । काम गर्छुभन्ने प्रण गरेर तपाईंहरुको साथ खोज्दै मैदानमा आएको मलाई कुनै पनि अलमलमा नगरी सहयोग गर्नुस् ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल