विराटनगर,२३ चैत /
विराटनगरका स्थानिय व्यावसायीको आन्दोलन संगै पार्किङका विषयमा विराटनगर महानगर लचिलो भएको छ । यस्तै कार्यान्वयनमा ल्याएको पार्किङस्थललाई थप व्यवस्थित बनाइने पनि भएको छ ।
महानगरपालिकाले बिहिबार सरोकारवालासहितको उपस्थितिमा भएको बैठकले यसअघि तोकिएका पार्किङस्थललाई थप व्यवस्थित बनाउने निर्णय गरेको हो । महानगरले यसअघि जलजलाचोकदेखि ट्राफिक चोक, शनिमन्दिर–कोशी अस्पतालचोक, महावीर रोड, गुद्री रोड, हिमालय रोडलाई महानगरले पार्किङ निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।
यसअघि कार्यान्वयनमा ल्याएका पार्किङस्थलमा भौतिक संरचना थप गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने बैठकले निर्णय गरेको छ । त्यस्तै जलजला चोकदेखि डिएसपी अफिससम्म भने पार्किङस्थल निश्चित भएपछि नो पार्किङको निर्णयलाई कार्यान्वयनमा ल्याइने भएको छ । बैठकले यसअघि तोकिएका पार्किङस्थलहरु थप व्यवस्थित गर्दै भौतिक पूर्वाधारहरु थप गरी सीसी क्यामेरा र बत्ती जडान गरी सुरक्षित र व्यवस्थित बनाउने निर्णय गरेको छ ।
मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीको उपस्थितिमा भएको बैठकले पार्किङस्थललाई जतिसक्दो छिटो व्यवस्थित गरी नो पार्किङलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णयसमेत भएको छ । साथै बैंक तथा वित्तीय संस्था, अस्पताल, होटेल, सरोकारवाला संस्थाहरुलले आफ्नो पार्किङको आफैं व्यवस्थापन गर्नका लागि पत्राचार गर्ने निर्णय भएको महानगरका प्रवक्ता सन्तोष न्यौपानेले जानकारी दिए ।