विराटनगर,१२ वैशाख । आज वैशाख १२ गते । नौ वर्षअघि आजकै दिन गोरखाको बारपाक क्षेत्रलाई केन्द्रविन्दु बनाएर महाभुकम्प गएको थियो । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी महाभूकम्पको स्मृति दिवस मनाइँदैछ ।
०७२ वैशाख १२ गते बिहान ११ः५६ बजे ७ दशमलव ६ रेकटर स्केलको भुकम्प गएको थियो । सामान्य दैनिकीमा व्यस्त मुलुक अकस्मात बैशाख १२ गतको भुकम्पले ध्वस्त बनाएको थियो ।
त्यसबखत नेपाली जनताले कहिल्यै नभोगेको, नसोचेको क्षति भयो । धरहरा, बसन्तपुर ढल्यो । गाँउ, टोलदेखि अस्पतालसम्म चिच्याहट फैलियो । महाभुकम्पबाट करिब ८ हजार ८ सय जनाले ज्यान गुमाउँदा २२ हजार भन्दा बढि घाइते भए ।
झण्डै पाँच लाख घरहरु क्षति भए । हजारौंको संख्यामा विस्थापित बने । ८ हजार बढि विद्यालयका भवनहरु भत्किए, करिब ८ सय ऐतिहासिक सम्पदा, हजारौंको संख्यामा अस्पताल र लाखौँ निजी तथा सरकारी घर९भवनहरु भत्किदाँ करिव ६६९ अर्ब रुपैंया बराबरको क्षति नेपालले व्यहोर्नु पर्यो ।
गोरखा भूकम्पले ओखलढुङ्गा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, भक्तपुर, ललितपुर, काठमाडौँ, रसुवा, नुवाकोट, धादिङ, गोरखा र मकवानपुर गरी १४ जिल्लामा धेरै क्षति गरेको थियो ।
यसैगरी सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, अर्घाखाँची, पूर्वी नवलपरासी र पश्चिम नवलपरासी गरी १८ जिल्ला कम प्रभावित भएका थिए ।
वि.सं २०७२ साल वैशाख १२ गतेको भुकम्पले व्यापक जनधनको क्षति गरेपछि शुरु गरिएको पुनर्निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । महत्वपूर्ण संरचनाहरु अझै पूनः निर्माणको पर्खाइमा छन् ।