विराटनगर,१९ फाल्गुन / नेकपा (एमाले) मोरङको दशौं जिल्ला अधिवेशन लम्बिने संकेत देखिएको छ । प्रतिनिधि छनोटको विवाद मिल्न सकेको छैन ।
विवादका कारण जिल्ला अधिवेशन लम्बिने देखिएको हो । शनिबारदेखि सुरु भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज (सोमबार) सम्पन्न गर्ने तयारी थियो । पार्टीका उपाध्यक्ष रामबहादुर थापा बादलले गत शनिबार अधिवेशनको उद्घाटन गरेका थिए ।नेताहरुले सहमतिमा एमालेको जिल्ला नेतृत्व छान्न दबाब दिएका छन् । तर, २ पक्षबीच प्यानल नै बनाएर प्रतिस्पर्धा हुने देखिएको छ । नेतृत्व चयनमा सहमति जुट्ने सम्भावना कमजोर छ । नयाँ नेतृत्व छनोटका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार आज (सोमबार) बिहान ८ बजेबाट निर्वाचन प्रक्रिया प्रारम्भ हुने भनिएको छ । तर, यो समाचार तयार पार्दासम्म निर्वाचनको प्रक्रिया अघि बढ्न सकेको छैन । अधिवेशनका लागि मनोनित भएका ४६ जना प्रतिनिधिको विवाद मिल्न नसक्दा निर्वाचन कार्यतालिका सार्वजनिक भएपनि थप प्रक्रिया अघि बढेको छन । असन्तुष्ट पक्षले मनोनित प्रतिनिधिको विषयमा विरोध गर्ने तयारी गरेको छ ।
संस्थापन पक्षले ४६ जना प्रतिनिधि एकलौटी रुपमा मनोनित गरेको भन्दै बन्दसत्रमा आइतबार इतर समूहले प्रदर्शन गरेको थियो ।प्रदर्शन र नाराबाजीपछि बन्दसत्र रोकेर नेताहरु छलफलमा बसेका थिए । तर, मनोनित प्रतिनिधिको विषयमा कुनै निर्णय भएन । प्रतिनिधिहरुका अनुसार आज बिहान पुनः बैठक बस्ने भन्दै नेताहरु बैठकबाट बाहिरिएका थिए । प्रतिनिधिको विवाद टुंगो नलगाइ निर्वाचन कार्यतालिका सार्वजनिक भएपपछि इतर समूह असन्तुष्ट बनेको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेपछि मनोनयन दर्ता गर्ने तयारी छ । दिउँसो २ः४५ बजेदेखि ५ बजेसम्म नयाँ नेतृत्वका लागि मतदान गर्ने कार्यसूची छ । मतदानपछि पार्टी कार्यालय पाञ्चनालीमा मतगणना हुनेछ । जिल्ला अधिवेशनमा संस्थापन र इतर पक्षको नाममा २ वटा प्यानल बनेको छ । संस्थापन पक्षमा अध्यक्ष केपी शर्मा ओली निकटका नेताहरु छन् । इतर पक्षको नेतृत्व विनोद ढकालले गरेका छन् ।
संस्थापन पक्षले राजकुमार ओझालाई जिल्ला अध्यक्ष, शान्ति भुजेललाई उपाध्यक्ष र रविन थापालाई सचिवको उम्मेदवार बनाउने तयारी गरेको छ । विनोद ढकालको समूहले अजम्बर राईलाई जिल्ला अध्यक्ष, सागर थापालाई उपाध्यक्ष, सोमराज थापालाई सचिव, उषा झा र सन्तोष वान्तवालाई उपसचिवमा अघि बढाउने तयारी गरेको छ ।