विराटनगर , १२ जेठ । कोशी प्रदेशका प्रहरी प्रमुख डीर्आइजी (प्रहरी नायब महानिरीक्षक) ईश्वर कार्कीले कोशी प्रदेशमा प्रहरी सेवालाई परिणाममुखी, जनउत्तरदायी र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।
विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयमा सोमबार पत्रकारसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममार्फत उनले आगामी कार्य योजनाका बारेमा जानकारी दिँदै यस्तो प्रतिबद्धता जनाएका हुन् ।
कार्कीले १५ दिनअघि अर्थात् वैशाख २८ गते प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । डीआईजी कार्कीले ‘बेस्ट पुलिसिङ’को अवधारणा अनुरूप प्रहरी सङ्गठनलाई जनमैत्री, उत्तरदायी र पारदर्शी बनाइने बताए । ‘अब प्रहरी सेवा नतिजामुखी हुन्छ । जनताले अनुभव गर्ने गरी सुधार ल्याउने छौँ । प्रहरी प्रशासनलाई अब कागजीभन्दा व्यवहारमै परिवर्तन देखिने गरी कार्यान्वयनमा लगिने छ,’ कार्कीले भने ।
‘नेपाल प्रहरी संस्था हो, व्यक्ति होइन,’ कार्कीले भने, ‘व्यक्ति विशेषको गल्तीबाट संस्थाको साख गुम्न दिनुहुन्न।’ उनले प्रहरी सङ्गठनभित्र अनुशासन र आचारसंहितालाई बलियो बनाउनेतर्फ आफू कटिबद्ध रहेको स्पष्ट गरे।
उनले प्रहरी सङ्गठनभित्र देखिएका कमजोरी सुधार्न निरीक्षण र अनुगमन अभियान थालिएको जानकारी दिए। हालसम्म केही प्रहरी कार्यालयको निरीक्षण सम्पन्न भइसकेको र बाँकी पाइप लाइनमा रहेको बताए।
कार्कीले समुदाय–प्रहरी साझेदारीलाई अझ सशक्त बनाइने बताए। प्रहरीको काम केवल अपराध नियन्त्रणमा सीमित नराखी, समाजसँगको सम्बन्ध बलियो बनाउने दिशामा अघि बढ्ने बताएका छन्।कार्यक्रममा प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी गोविन्द अधिकारी, एसपी हरि डङ्गोललगायतका प्रहरी अधिकृतहरूको उपस्थिति थियो।