काठमाडौँ २२ जेठ । विपक्षी दलहरुको अवरोधका कारण बिहीबार पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक समेत जोडिएकाले उनले राजीनामा दिनुपर्ने माग राख्दै विपक्षी दलहरुले जेठ १२ गतेदेखि संसदमा अवरोध गर्दै आएका छन्।
जेठ १५ गते बजेट प्रस्तुत गर्न दिए पनि त्यसपछि तोकिएका बैठकहरु विपक्षी र सरकारबीच कुरा नमिल्दा चल्न सकेको छैन।
सूचना टाँस गरेर स्थगित हुँदै आएको बैठक बिहीबार सुरु गरिए पनि लगत्तै विपक्षी दलहरुले होहल्ला गरेका छन्।
विपक्षीले होहल्ला गरेपछि सत्ता पक्षका सांसदहरुले पनि होहल्ला गरेका थिए। बैठक अघि बढ्न अवस्था नबनेपछि सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन्।
विपक्षी दलहरु गृहमन्त्रीको राजीनामाको माग छाडेर छानबिन समिति बनाउन लचक भए पनि सत्ता पक्षले त्यसलाई अस्वीकार गरेको छ।
संसद अवरोधका कारण बजेटमाथि छलफल सुरु हुन सकेको छैन।