काठमाडौं, २० असार । नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ ।
ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड–१९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताए । उनले भने– “सबै सीमा नाकाका हेल्थ डेस्कमा कोभिड–१९ आरडिटी विधिबाट परीक्षण भइरहेको छ ।”