विराटनगर,२२ असार । कोशी प्रदेशको मनसुन तथा प्रतिकार्य योजनाका विषयमा रेडक्रसले सरोकारवालाहरुसंग बृहत छलफल सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशको सहयोगमा विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा रेडक्रस कोशी प्रदेशले कोशी प्रदेशको मनसुन तथा प्रतिकार्य योजना र प्रभावकारिता परिक्षणका लागि कृत्रिम घटना अभ्यासका विषयमा छलफल राखेको थियो । सरोकार सम्वन्ध सुरक्षा निकायका प्रतिनिधि,अनुगमनकर्ता,मानवीय सहायता कार्यगर्ने निकाय,स्थानीय विपद् व्यवस्थापन समिति ,स्थानीय आपत्कालिन कार्यसञ्चालन केन्द्र,विपद् व्यवस्थापन समिति,जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र,कृत्रिम घटना व्यवस्थापन समूह,विषयगत र सह नेतृत्व लिने निकाय,प्रदेश विपद् व्यवस्थापन समिति,प्रदेश आपत्कालिन कार्यसञ्चालन केन्द्र लगायत संग रेडक्रसले छलफल गरेको हो ।
कार्यक्रममा सर्पदंश, आगलागी, बाढीपहिरोलगायत विपद्का जोखिमबाट बच्ने उपायका सम्बन्धमा जनचेतना जागृत गराउन र मानवीय जीवन, भौतिक संरचना र प्राकृतिक स्रोत जोगाउने विषयमा छलफल भएको थियो । जेठ १८ देखि आगामी असोज १४ गतेसम्म प्रदेशमा मनसुनजन्य जोखिम रहेको जल तथा मौसम विज्ञान विभागबाट सूचना प्राप्त भएको कुरालाई समेत कार्यक्रममा उठान गरिएको थियो । विपद् आउनुभन्दा अगाडि र भइसकेपछि अपनाउनुपर्ने संयमताका विषयमा समेत कार्यक्रममा छलफल भएको रेडक्रस कोशी प्रदेश रेडी प्रोजेक्ट प्रोग्राम अफिसर किरन सेडाइले जानकारी दिए ।
रेडक्रस कोशी प्रदेशका अध्यक्ष राजेन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशका उपसचिव कमल बहादुर थापा,प्रदेश विपद् व्यवस्थापन समितिका सदस्य तथा विज्ञ रामकुमार दाहाल,रेडक्रस मोरङका सभापति सुकदेव मण्डल ,रेडक्रस कोशी प्रदेश रेडी प्रोजेक्ट प्रोग्राम अफिसर किरन सेडाइ लगायतको सहभागिता रहेको थियो ।