कौशल निरौला
विराटनगर,२३ असार । मोरङ स्थित कटहरी गाउपालिका चम्डाइ- ४ मा रहेको श्रीराम रिफाइन फ्याक्ट्रीबाट निस्केको प्रदुषणले बसिनसक्नु बनाएको भन्दै स्थानियले विरोधप्रदर्शन गरेका छन् ।फ्याक्ट्री नजिकै रहेको गाउँमा उद्योगवाट निस्केको प्रदुषणले सोझै प्रभाव पार्ने गरेको भन्दै स्थनियले विरोध जारी राखेका छन् । फ्याक्ट्रीले बालेको परालको छाइ उडेर आउदा झण्डै ३ सय घरपरिवार समस्यामा परेको स्थानियको भनाइ छ । यसमाथी आएको दुर्घन्धले समेत स्थानिय पिडित भएका छन् ।
स्थानिय जानुका पोखरेलले भनिन् -“हामिले धेरैपटक फ्याक्ट्री सञ्चालकलाई भनिसकेका छौ । कम्तिमा छाइ र दुर्घन्ध रोक्ने व्यवस्था गरिदिनु भनेर । फ्याक्ट्रीले जहिल्यै झुक्काउने काम गरेको कारण बाद्य भएर विरोधमा उत्रिनु परेको हो ।” यस्तै स्थानिय मुना दाहालले छाइका कारण बाहिर लुगा सुकाउदा टाटा बस्ने गरेको गुनासो व्यक्त गरिन् । उनले स्थानियमा कुनै न कुनैरुपमा रुगा,खोकी र ज्वरोले समेत नछाडेको गुनासो गरिन । बृद्ध मानिसहरुका लागि झनै समस्या निम्तिएको दाहालको गुनासो छ ।
स्थानिय मिना निरौलाले उद्योगले प्रदुषण नियन्त्रण गरोस् भन्ने मात्रै उदेश्य राखेको बताइन् । लामो समय यता स्थानियले यसखाले समस्या भोगीरहेको र नियन्त्रको प्रयास नहुदा विरोधमा जानुपरेको बताइन् ।
यो फ्याक्ट्री उद्योगी अशा्ेक मुरारकाको हो । स्थानियको विरोधलाई उनले अटेर गर्दै आएका छन् । यद्यपी विराटपोष्ट संग कुरा गर्दै उनले एक महिनाभित्र समस्या समाधान हुने दावी गरेका छन् । प्रदुषण तथा छाइ रोकिनेगरिको नयाँ मेसिन जडानहुनेक्रममा रहेको मुरारकाले जानकारी दिए । स्थानियको समस्यालाई आफुले बुझेको र सोही अनुरुप काम गर्न आतुर रहेको जवाफ दिए ।
वातावरण जानकार शिला शर्माले धुलो, धुवा र केमिकलजन्य रसायन नियन्त्रण गरेर उद्योग, कलकारखाना सञ्चालन गर्ने वाचासहित उद्योग सञ्चालन भएतापनि मापदण्ड पूरा नगरिदिँदा समस्या भएको बताउछिन् । निगरानी गर्नुपर्ने सरकारी निकायले ठिक ढङ्गले निगरानी नगरिदिँदा सिमेन्ट उद्योग, कलकारखानाबाट निस्केको केमिकलजन्य पदार्थ, जथाभाबी बाटोघाटोमा छरपष्ट रहेको र वातावरणमा समेत प्रभाव परेको बताइन् ।
उद्योग, कलकारखाना स्थापना हुँदा वातावरण प्रभाव मूल्याङ्कन भएको हुन्छ, उद्योगी व्यवसायीले अक्षरश पालना गर्ने प्रतिबद्धता जनाएपनि सरकारले सही ढङ्गले निगरानी नगर्दा त्यसको प्रत्यक्ष असर आम नागरिक र जीवजन्तुले भोग्न बाध्य भएको उनको भनाई छ ।