काठमाडौँ,१२ श्रावण / सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाट बेपत्ता भएका एकै परिवारका १६ जनाको नाम सार्वजनिक भएको छ। प्रहरीका अनुसार बेपत्ता हुनेमा एक वर्षका बालकदेखि ५२ वर्षका महिलासम्म छन्।
उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता भएका हुन्। सम्पर्कविहीन भएकाहरूको खोजी तीव्र पारिएको छ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले घटना रहस्यमय देखिएको बताए । ‘हामी पनि अचम्मित भएका छाैँ । खोजीका लागि प्रहरी परिचालित छ,’ भुषालले भने।
मोबाइलको लोकेशन रामेछापतिर देखाएको र त्यसतर्फ इन्सपेक्टरको नेतृत्वमा प्रहरी परिचालन गरिएको भुषालले जानकारी दिए।
उनका अनुसार बेपत्ता भएकामध्ये एक जनाको मोबाइलको अन्तिम लोकेशन रामेछापको सिमिलछाप भन्ने ठाउँतिर देखाएको छ। यद्यपि अहिले मोबाइल बन्द रहेको छ।
रामेछापमा आफन्तहरू रहेको बुझिएको र त्यहाँ खोजीकार्यका लागि प्रहरी परिचालन भएको हो। प्रहरीले अन्य हायु समुदायमा गएको हुन सक्ने भन्दै त्यसतर्फ पनि प्रहरी परिचालन गरेको छ।
तीन दिनदेखि उर्मिलासँगै उनका ६ जना छोरी, ६ जना छोरा, १ बुहारी, १ नातिनी र १ ज्वाइँ बेपत्ता छन्। सोमबार दिउँसो १२:३० बजे १६ जना बेपत्ता भएको खबरपछि प्रहरी भण्डास बिप्परमा परिचालन भएको थियो।
बिप्पर घरदेखि दुई किलोमिटर आसपासको जङ्गलमा खोजी गर्दा कुनै अवस्था पत्ता लाग्न सकेको छैन। यद्यपि अहिले पनि सिन्धुलीका प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीको नेतृत्वमा सशस्त्र प्रहरी र स्थानीयले बिप्पर क्षेत्रमा बेपत्ताहरूको खोजी कार्य गरिरहेका छन्।
नेपाल प्रहरीका अनुसार बेपत्ता हुनेमा बेपत्ता हुनेमा ५२ वर्षीया उर्मिला हायुसहित उनका ६ छोरा, ६ छोरी, १ बुहारी, १ नातिनी र १ जना ज्वाइँ रहेका छन्।कमलासहित २३ वर्षीया कोमल माया हायु, १९ वर्षीया उषा हायु, २१ वर्षीया अस्मिता हायु, २९ वर्षीय राजु हायु, २४ वर्षीय हिमाल हायु, १६ वर्षीय लालबहादुर हायु, १४ वर्षीय वेगबहादुर हायु, ११ वर्षीय लक्ष्मण हायु, १२ वर्षीय सुवर्ण हायु, १० वर्षीया ओमकुमारी हायु, १ वर्षीय अर्जुन हायु, ४ वर्षीया रियासा हायु र १५ वर्षीय शान्ता हायु बेपत्ता रहेका हुन्।