
सप्तरी,२१ साउन । भारततर्फ अवैध रुपमा मदिरा तस्करीको सूचनाका आधारमा प्रहरीले चलाएको गोली प्रहारबाट एक युवकको मृत्यु भएसंगै सप्तरीमा मृतकका परिवार र स्थानीय प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन् । सप्तरीको राजगढ गाउँपालिका–२ मा मदिरा तस्करी नियन्त्रण गर्न पुगेको प्रहरी टोली र स्थानीयबीच तनावपूर्ण स्थिति उत्पन्न भएपछि प्रहरीले गोली चलाउँदा एक स्थानीय युवकको ज्यान गएको थियो ।
घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् । मृतकको परिवार र स्थानीयले निष्पक्ष छानबिनको माग गर्दै प्रदर्शन गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको र त्यस क्रममा एक गोली ३७ वर्षीय लालु यादवको तिघ्रामा लागेर घाइते भएको प्रहरीले जनाएको छ । घाइते यादवको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो ।