काठमाडौं,१२ आश्विन । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई राज्य व्यवस्थाले समेट्नु पर्नेमा जोड दिएका छन्।
पहिलोपटक आफूलाई ‘पूर्वराजा’को दर्जामा राखेका शाहले यस वर्षको विजया दशमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै मुलुकको वर्तमान अवस्था र भविष्यको बाटोबारे गहिरो चासो व्यक्त गरेका हुन् । उनले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्दछ भन्दै युवा शक्तिमा निहित देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने धारणा राखेका छन्।
साथै उनले जन मनोभावनाको ख्याल राखेर समय सापेक्ष सुधार गर्दै अघि बढ्नु जरुरी रहेको बताउँदै भौतिक विकास, आधुनिक प्रविधि र वैज्ञानिक दक्षतालाई ग्रहण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। पूर्वजहरूको त्याग र बलिदानको स्मरण गर्दै नेपाललाई कुनै परनिर्भरता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैँ तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको उनले बताएका छन्।
अब बिगार्ने होइन, सपार्ने तिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्नेमा उनकाे जोड छ । उनले सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेतको आवश्यकता औँल्याएका छन्।
सन्देशको अन्त्यमा उनले यस वर्ष राष्ट्र चरम विध्वंश र शोकको स्थितिमा रहेको उल्लेख गर्दै पारिवारिक र सांस्कृतिक रूपमा मात्रै पर्व मनाउन बाध्य भएको बताएका छन्। यसैकारण विगतमा झैं वृहत् रूपमा टीका जमरा प्रदान नहुने जानकारी पनि गराएका छन्।