
काठमाडौं,३० कार्तिक । मधेस प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आफूविरुद्ध आन्दोलनमा उत्रेका मधेसवादी राजनीतिक दललाई वार्तामा आउन आह्वान गरेका छन् । उनले सहमति तथा संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्ने आग्रह गरे ।
मुख्यमन्त्री यादवले आज प्रदेशवासीको नाममा सम्बोधन गर्दै हरेक समस्याको समाधान वार्ता, संवाद र सहमतिबाट आउने भएकाले आन्दोलन रोकी सहकार्य र समन्वयका साथ अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । आन्दोलनरत मधेसवादी दलहरूबीच मुठभेडको अवस्थामा हुनसक्ने भन्दै संवादको माध्यमबाट अहिलेको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । मुख्यमन्त्री तथा संवैधानिक निकायको प्रमुखलाई वर्तमान अवस्थामा असुरक्षा रहेको गुनासो व्यक्त गर्दै मुख्यमन्त्री यादवले वार्ता नै संवादको उत्तम विकल्प रहेको धारणा राखे ।
मधेसवादी दलहरूको कुनै एजेण्डा नरहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले सर्वोच्च अदालतमा आफूविरुद्ध मुद्दा दायर गरी कानुनी प्रक्रिया अवलम्बन गर्नुपर्ने उल्लेख गरे । आफू नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सुरक्षामा भए पनि आन्दोलनकारीको भूमिका उग्र हुँदा स्थिति मुठभेडतर्फ गएकाले आन्दोलन त्यागेर वार्तामा आउन उनले सबैलाई आग्रह गरे ।