
काठमाडौं, ७ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त भएका छन् । प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले थुनामुक्त गर्न आदेश दिएसँगै प्रसाईं छुटेका हुन् । प्रहरीले गत मङ्सिर १ गते प्रसाईंलाई पक्राउ गरेर सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान गरिरहेको थियो ।सर्वोच्चले आज प्रसाईंलाई कानुन बमोजिम थुनामा राखेको भन्ने व्याख्या गर्न नमिल्ने बताएको छ।आदेशमा भनिएको छ, ‘दुर्गा प्रसाईंलाई पक्राउ गर्नु वा थुनामा राख्नु निवेदकको संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता समेतको स्वेच्छाचारी उल्लंघन हुन जाने र प्रसाईंको उक्त कार्य नेपालको संविधान आत्मसात गरेको मानव अधिकार, मौलिक हक तथा लोकतान्त्रिक पद्धतिको मूल्यमान्यता अनुकूल समेत देखिन नआएबाट निवेदकको थुनालाई कानुन बमोजिमको थुना भनी मान्न मिल्ने देखिएन। दुर्गा प्रसाईंलाई कानुन विपरीत प्रवृत्त धारणाबाट थुनामा राखेको देखिन आयो ।’
थप भनिएको छ, ‘२०८२।५।६ मा निवेदक संलग्न महाअभियानले सञ्चालन गर्ने कार्यक्रम शान्तिपूर्ण ढंगले सञ्चालन गर्ने सहमति समेत भैसकेको भनी विद्वान कानुन व्यवसायीहरूले इजलासलाई अवगत गराउनु भएको परिवर्तित सन्दर्भमा निवेदक विरुद्धको दाबीको कसुरमा अनुसन्धान तहकिकात गर्नुपर्ने वा सो प्रयोजनका लागि निजलाई हिरासतमा राख्नुपर्ने औचित्य समेत समाप्त भैसकेको देखिन आएकोले यी निवेदक विरुद्ध जारी पक्राउपूर्जी तथा म्याद थप लगायतका अनुसन्धान सम्बन्धी सम्पूर्ण काम कारबाही उत्प्रेषणको आदेशले बदर भई निवेदक दुर्गा प्रसाद प्रसाईंलाई गैरकानुनी थुनाबाट तत्काल मुक्त गर्नु भनी विपक्षीहरूको नाउँमा बन्दी प्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ ।’