featured photo: Birat Post
काठमाडौं ,३ पुस । नेकपा एमालेको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिएका छन्। केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बासमक्ष नवनिर्वाचित अध्यक्ष ओलीले सपथग्रहण गरेका हुन् ।
एमाले पार्टीको यसअघि दुई कार्यकाल नेतृत्व गरिसकेका नेता ओली ११ औँ महाधिवेशनमा प्रतिस्पर्धी ईश्वर पोखरेलभन्दा १०९९मत बढी प्राप्त गरी तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । झापा विद्रोहमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै जेलनेलसहित अनेकौँ आरोहअवरोह झेलेर मुलुकको राजनीतिक केन्द्रमा रहन सफल अध्यक्ष ओलीले तीनपटक देशको नेतृत्व गरिसकेका छन् ।
पछिल्लो पटक २०८१ असार ३१ मा नेपाली कांग्रेससँगको सहकार्यमा चौथो पटकका लागि मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका ओलीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए ।
गत मङ्सिर २७ गतेदेखि काठमाडौँमा सुरु भएको ११औँ महाधिवेसनमा पार्टीभित्र पुस्तान्तरण र हस्तान्तरणको आवाज उठे पनि देश र प्रदेशबाट छानिएर आएका महाविेशन प्रतिनिधिहरूले पुनः ओलीलाई नै नेतृत्वको जिम्मेवारी सुम्पेका छन् । विघटित प्रतिनिधिसभामा दोस्रो ठुलो दलका रुपमा रहेको एमालेलाई विशेष गरी जेन्जी आन्दोलनपछि मुलुकमा विकसित राजनीतिक घटना, परिघटनाबीच नेतृत्व गर्ने चुनौती ओलीसमक्ष रहेको छ ।
सम्बन्धित