
विराटनगर,२१ माघ । विराटनगरस्थित हिमालय दर्शन कलेजमा ब्लकचेन प्रविधिको महत्व र यस क्षेत्रमा रहेका अवसरबारे जानकारी दिने उद्देश्यले एकदिने कार्यशाला सम्पन्न भएको छ । हिमालय दर्शन कलेजको आयोजना तथा ‘सुपरटिम नेपाल’को प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको हो ।
कार्यशालामा विराटनगरसहित इटहरी र धरानका विभिन्न कलेजमा अध्ययनरत १ सय १० भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो । पछिल्लो समय विश्वभर चर्चामा रहेको ब्लकचेन टेक्नोलोजीका आधारभूत पक्ष, यसको कार्यशैली र यसमा करियर कसरी बनाउन सकिन्छ भन्ने विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिइएको थियो ।
हिमालय दर्शन कलेजका एकेडेमिक हेड कुशल निरौलाका अनुसार कार्यशालामा सहभागी विद्यार्थीहरूलाई एउटा विशेष प्रोजेक्ट (परियोजना) समेत दिइएको छ । विद्यार्थीले उक्त प्रोजेक्ट १ देखि २ हप्ताभित्र बुझाउनुपर्नेछ । सहभागीमध्ये उत्कृष्ट परियोजना प्रस्तुत गर्ने विजेताले १ सय ५० अमेरिकी डलर पुरस्कार प्राप्त गर्ने निरौलाले जानकारी दिए ।
कार्यक्रमका प्राविधिक सहयोगी एवं सुपरटिम नेपालका प्रमुख रौनकराज रौनियारले उपत्यका बाहिर पनि प्रविधिको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको बताए । उनले हिमालय दर्शन कलेजले सूचना प्रविधिको क्षेत्रमा राम्रो काम गरिरहेको र व्यवस्थापन पनि व्यवस्थित भएकाले यस कलेजलाई कार्यशालाका लागि छनोट गरिएको उल्लेख गरे ।
कार्यक्रममा ब्लकचेनमा आधारित वेब ३, डिजिटल फाइनान्स र यसमा उपलब्ध रोजगारीका अवसरबारे विद्यार्थीहरूले विज्ञहरूसँग अन्तरक्रिया समेत गरेका थिए । कलेजले आगामी दिनमा पनि यस्ता प्रविधिमुखी कार्यक्रमहरूलाई निरन्तरता दिने कलेजका प्रमुख भरत सापकोटाले जानकारी दिए ।