धिरज दाहाल सोमबार, आषाढ ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

 

राजनीति राज्य संचालनको नीति हो । यसका माध्यमबाट राज्यमा हुनुको सुखानुभुत र नागरीक हुनुको गर्वबोध रहन्छ । यसमा संलग्न अनुहारहरुको तेज र बोलीको आनन्दमय जादुका माध्यमबाट जनतामा एउटा अनौठो उत्साह प्राप्त हुन्छ । नेताका बोलीलाई जनताले निर्देश मान्दछन । नेताका सपनामा जनता रमाउछन् । सपना देख्छन् अनी तिनै सपनाको पुर्णताको आशमा रमाउछन । तथापी पछिल्लो समयमा राजनीति अझ भनौ नेपाली राजनीति त नेताका लागी साधन बन्दै गएको छ भने जनताका लागी मनोरञ्जनको अर्को नयाँ साधन । पछिल्ला केही दिनदेखी देशमा एउटा भान्सा सामाग्री असाध्यै चलेको छ । मुलुकका प्रधानमन्त्रीले संसदमा बढो गर्वका साथ बहुउपयोगी पहेलो धुलो बेसारलाई महामारी कोभिड १९ को जडी दबाइ भनेर फुकेपछि नेपालीका भान्सामा मात्र सिमित रहेको बेसार एकाएक सडकमा देखिन थालेको छ । त्यतीमात्र होइन, तरकारी र दालमा रंग भर्ने बेसार पछिल्ला दिनमा नेपाली यूवाका गाला रंगाउने माध्यम बनेको छ । जे होस बेसार सडकमा निस्किएको छ । असाध्यै चलेको छ ।

त्यसो त प्रधानमन्त्रीका यो र यस्ता टुक्के अभिव्यक्ती नेपाली संचार माध्यममा खुराक बन्ने गरेको पहिलो पटक भने होइन । यसभन्दा अघि पनि प्रधानमन्त्रीले नेपाली संचार माध्यमका लागी पटक पटक रमाइला खुराक दिएका छन् । ध्वजावाहक पानी जहाज, पेट्रोल उत्पादन, हावाबाट बिजुली, पाइपलाइनबाट घर घरमा ग्याँस जस्ता रमाइला खुराकका उत्पादक पनि प्रधानमन्त्री नै हुन् । ठूलो वर्णमालामा रहेको अंग्रेजी अक्षर एस. फर सिपको फोटोमा मात्र सिमित रहेको पानीजहाज कागजी रुप धारण गरेर सडकका खाल्डा खाल्डामा पुग्यो । समाजिक संजालमा थरी थरीका जहाजहरुको तस्विर यत्र तत्र सर्वत्र देखियो ।

मृत्युसँगको युद्दमा आफ्नो जिवनलाई राज्यकोषका माध्यमबाट पटक पटक जिताएका प्रधानमन्त्रीको नेपाली संचार माध्यमसँगको प्रगाढ प्रेम छर्लंग छ । म सम्झन्छु कुनै समयमा भारत बिहारका दबंग नेता तथा राष्ट्रिय जनता दलका सुप्रिमो लालु यादवले भारतिय संसदमा सम्बोधन गर्ने क्रममा पत्रकारहरुलाइ सम्झाउदै भनेका थिए कि, “तिमीहरुका समाचार उत्पादक हामी राजनीति गर्ने नेताहरु हौ । यदि हामीले राजनीतिका माध्यमबाट तिमीहरुलाई समाचार नदिने हो भने तिमीहरुको रोजीरोटी बन्द हुन्छ अनि फेरी तिमीहरु नै हामीलाई यो भन्यौ –त्यो भन्यौ भनेर उडाउँछौ ।” सायद हाम्रा प्रधानमन्त्री आर.जे.डी. सुप्रिमो यादवसँग प्रभावित हुनुहुन्छ । जे होस समाचार बन्छन् । चर्चा हुन्छ , चिया चल्छ साथै देशका शहरीया अनि ग्रामिण चोक पनि केही दिन प्रधानमन्त्रीका टुक्काले मज्जाले चल्छ ।

देश मक्किदै गएको छ । तर, म यसो भन्दा देश नेकपाको यो शक्तिशालीको सरकारको निर्माण पछाडी मात्र मक्किदै गएको हो भनेर चै पटक्कै भनिरहेको छैन । तथापी यो चै दावाका साथ भन्छु कि धमिरा शुरु भएको देशमा नेकपा सरकारको अवतारी अवतार पश्चात चै जर्जरता थपिएको छ । मुलुकमा भ्रष्टाचार यति उधुम बढेको छ कि मन्त्रीहरुले सिधै रकमको मोलमोलाइ गरेको प्रमाण पेश गर्दा समेत प्रधानमनत्री ढाल बनेर उभिन्छन । जनता सडकमा उत्रिन पर्छ र आन्दोलन गर्न पर्छ । वर्खास्तगीको नारा लगाउनुपर्छ । जनताका अपार सुखी आशमा बनेको सरकार काण्डै काण्डको भकारी बन्दै गएको छ । भकारी भरिएको छ झुसी भएर । कहिले सहमती बेगरको अध्यादेश काण्ड त कहिले रातारात सांसदको अपहरण गरी पार्टी फुटाउने काण्ड ।

सरकार संकटमा छ । तथापी प्रधानमन्त्री संकट देख्दैनन । प्रधानमन्त्री एक तमासले बासुरी बजाउदैछन । मानौ रोम जलेको हेरेर निरो मुग्ध भएर बाँसुरी बजाउँदैछन । देशमा स्वास्थ संकट लागेको छ । कोभिड १९ को महामारीले जनतामा रोग,भोक र शोक एकै पटकमा थोपरीदिएको छ । यो संकटमा प्रधानमन्त्री नेपालीको रोग प्रधिरोधात्मक क्षमताको प्रशंसामा शब्द खर्च गर्छन र हिमाली हावाको चिसोमा बसेर बेसार खान सल्लाह दिन्छन । तर, ठोस योजना बिनाको जनता थुन्ने काम र उपचारका नाममा गाई गोठमा क्वारेन्टाइन बनाउँछन । देशमा आर्थिक संकट बढेको छ । लामो समयको लकडाउनका कारण र महामारीमा राज्यकोषको बेहिसाबको खर्चका कारण ढिकुटी रित्तिदै गएको छ । विश्व स्वास्थ्य संगठनले औचित्यहिन देखेको महामारी जाँच साधनका नाममा करौडौ खर्च गर्न उत्साहित हुदैछन् ।

प्रतिपक्षले संसदमा बेहिसाबको हिसाब माग्छ, प्रधानमन्त्री घरका भुरा हप्काए जस्तो हप्काउछन । एउटा टुक्का थप्छन्, हसाउँछन् । सरकार खेमाका संसदमा टेबल बजाउछन् , प्रतिपक्षका रोइलो गर्छन् । बाहिर समाचार बन्छन् । उता आफ्नै दलभित्र पनि प्रधानमन्त्री संकटमा परेका छन् । अमेरिकन सहयोग सन्र्दभमा दलभित्रै एक्लिदै गएका प्रधानमन्त्री साथ दिएका दलका अन्य नेताहरुबाट टाढीदै गएका छन् । दुइ दल मिलेर दुइ पाइलटले उडाउने जहाजको संज्ञा पाएको दल अहिले रन वे मै धरमराउदै छ । उड्ने कहिले, उडाउने कहिले ? कुनै किताबका केही हरफहरु याद आउँछन्,“जब राजनीति गर्ने मान्छे जो आफुलाइ नेतृत्वमा राख्न चाहन्छ वा छ ,उसका मुखारवृन्द प्रत्येक शब्दहरु संतुलित हुनु पर्दछ । व्यवहार र आचरणमा शुद्दता हुनु पर्दछ । ”

चाणक्य भन्छन्, “राजनीति गर्ने व्यक्तिले तिन कुरा याद गर्नु पर्दछ, म यो किन गर्दैछु, यसको परिणाम के हुन्छ र के यो सफल हुन्छ ?”
तर, दुर्भाग्य यहाँ किताबका हरफहरु जस्तो न त संतुलित शब्द सुनिन्छन् न त व्यवहार र आचरणमा शुद्दता भेटिन्छ । न त चाणक्यले भने जस्तो किन गर्दैछु भन्ने बोध छ न त परिणामको चिन्ता अनि त सफलताको ज्ञान । बिचरा मेरा प्रधानमन्त्री !

प्रतिक्रिया दिनुहोस

सम्बन्धित

ताजा अपडेट
विराटनगरका कोरोना संक्रमितको काठमान्डौमा प्लाज्माथेरापी विधिबाट उपचार
आज २४६ जनामा कोरोना संक्रमण पुष्टि, थप १११ जना डिस्चार्ज
मोरङका १६ सहित प्रदेश एकमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि

लोकप्रिय

सम्पर्क

                  विराटपोष्ट डिजिटल प्रा.लि.

बिराटनगर – मोरङ ,नेपाल
कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५
सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

 

 

प्रमुख सम्पादक : प्रतिक्षा खतिवडा

संंवाददाता
सुजन निरौला
रोशिका अधिकारी

विनोद पोखरेल (काठमान्डौ)
सन्तोष सिग्देल (कोरिया)

संचालक तथा सम्पादक : कौशल निरौला
बिज्ञापनका लागि :

९८१२३०६६६०

०२१ ४२०१०६