काठमान्डौं १४ असोज ।
नेपाली कांग्रेसले सामाजिक दुरी कायम गर्दै सरकारका गलत कामकारबाहीका विरुद्ध देशभर आन्दोलन चर्काउने भएको छ । बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको बैठकले ओली नेतृत्वको सरकारले गरिरहेको पछिल्ला कामबारे समीक्षा गरेको छ । प्रतिपक्षी दलनै कमजोर भएको भन्दै चौतर्फी आलोचना भइरहेका बेला कांग्रेस सभापति देउवा आन्दोलनमा जाने विषयमा सकारात्मक देखिएका छन् ।
सरकारविरुद्ध आन्दोलन गर्ने विषयमा समेत आगामी १९ गते बस्ने केन्द्रीय समितिको बैठकमा गहन छलफल गरिने र सोही अनुरुप आन्दोलनको स्वरुप निर्धारण हुने कांग्रेस नेताहरुले बताएका छन् । आज बसेको बैठकमा देउवा समूहका नेतामात्रै छलफलमा सहभागी रहेको बताइएको छ । सरकारको खासै आलोचना नगरी बसेका सभापति देउवा एकाएक आन्दोलनमा जाने निर्णयमा पुग्नु आश्चर्यको विषय भएको भन्दै कांग्रेसबृतमा छलफलको विषय बनेको छ ।