काठमाडौँ २३ असोज ।
नयाँ–नयाँ फण्डा सार्वजनिक गर्ने गरेको स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना पोजेटिभ भएर पनि सार्वजनिक स्थलमा हिँडडुल गर्नेलाई कारवाही गर्ने घोषणा गरेको छ । केही दिन अगाडी बेहोस भए वा हुन हुन लागे मात्र उपचारमा जानु भनेर उर्दी जारी गरेको मन्त्रालयले पुन नयाँ नियम सार्वजनिक गरेको छ ।
कोरोना पोजेटिभ भएर पनि बाहिर हिँडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुन सक्ने मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएर समेत हिँडडुल गरे ६ महिनाको जेल सजाय हुने बताए ।
यसका लागि अनुगमनमा सहयोग गर्न घर,परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ । कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले बताए । दशैं तिहारमा भिडभाड नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।