काठमाडौ २१ मंसिर ।
शनिबार एकैदिन राजावादीहरुले चितवन, झापा, काठमाडौं, मकवानपुर लगायतमा प्रदर्शन गरे । फरक फरक संस्थाको नामबाट प्रदर्शन गरे पनि प्रदर्शनको उदेश्य एउटै हो, वर्तमान व्यवस्थाप्रति जनतामा वितृष्णा जगाउनु र धर्मको नामबाट राजसंस्थालाई पुनस्थार्पना गर्नु । राजावादीहरुले शनिबार यस्तो जिल्ला रोजे जो आफैंमा रणनीतिक चयन थियो । काठमाडौं मुलुकको केन्द्रीय राजधानी हो, त्यसैले पनि काठमाडौमा गरिएको प्रदर्शनले राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा सन्देश जान्छ । काठमाडौ पछि उनीहरुले चितवन र झापा जिल्ला रोजे । चितवन नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष पुष्पकमल दाहालको जिल्ला हो भने झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला हो । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको दुई ‘पाइलट’कै गृह जिल्लामा प्रदर्शन गरी राजावादीहरुले आफ्नो शक्ति प्रदर्शन गरे । काठमाडौंमा गरिएको प्रदर्शनको आयोजना नेपालकोलागि नेपाली र स्वतन्त्र नागरिक समाजको नामबाट गरिएको थियो भने चितवनको प्रदर्शन वीर गोरखाली ९एटिएफ०ले गरेका थियो । यसैगरी झापा र मकवानपुरको प्रदर्शन राप्रपाले गरेको हो । नेपालकोलागि नेपाली र स्वतन्त्र नागरिक समाजका अध्यक्ष सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपाने हुन भने वीर गोरखालीको अध्यक्ष सन्तोष राजावादी हुन् । यी तीन व्यक्ति राजावादी हुन र मुलुकमा सक्रिय राजतन्त्र चाहन्छन् ।
अहिले सरकारको कार्यशैलीप्रति जनता निराशा छन् । कोरोनाको महामारीले आक्रान्त जनतालाई सरकारले सामान्य राहत दिन सकेन । सरकारले नागरिकको स्वास्थ्यमा खेलवाड गरेको छ । यस्तो बेला जनतामा निराशा उत्पन्न भएको छ । यस्तो निराशाको फाइदा उठाउदै राजावादीहरु व्यवस्थाकै विरोधमा उत्रेका छन् । राजावादीहरुको यस्तो प्रदर्शनमा कुनै ठाउँमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले पनि समर्थन गरेका छन् । कुनै कुनै प्रदर्शनमा नेकपा र कांग्रेसका कार्यकर्ताहरु आफैं सहभागी भएका छन् । दाङको प्रदर्शनमा स्थानीय कांग्रेसका कार्यकर्ता सहभागी भएको समाचार आएको छ । राजावादीहरुले हिन्दु धर्मको एजेण्डालाई चर्को रुपमा उठाएका छन् । बहुसख्यक जनता हिन्दु धर्मावलम्बी भएको देशमा हिन्दु धर्मको एजेण्डाले स्वाभाविक रुपमा सबैको मन छुन्छ ।
कांग्रेसका एक थरी नेताहरुले हिन्दु धर्मको एजेण्डालाई जोडतोडले उठाएका छन् । हिन्दु धर्मको एजेण्डामा कांग्रेसका ती नेताहरु र राजावादीहरुले उठाएको हिन्दु राष्ट्रको एजेण्डा मिलेको छ । त्यसकारण पनि राजावादीहरुले गरेको प्रदर्शनमा कांग्रेसका केही कार्यकर्ताहरुको सहानुभुति हुन सक्छ । जे भए पनि राजावादीहरुको प्रदर्शनले कांग्रेसलाई आगामी महाधिवेशनमा अबको रणनीति तय गर्न सोच्न बाध्य बनाउने छ । कांग्रेसको महाधिवेशनमा हिन्दु धर्मको एजेण्डा आउने निश्चित छ । यस्तै बाध्यता नेपाल कम्युनिस्ट पार्टीलाई पनि आउने छ । सरकार अलोकप्रिय हुँदै जाँदा राजावादीहरु हौसिएका छन् । यसबाट पनि यो प्रदर्शनले नेकपालाई झस्काएको छ । तर पनि गणतन्त्र र धर्म निरपेक्षवादी दलहरुले राजावादीहरुको प्रदर्शनलाई त्यती महत्व दिएको देखिन्न । कात्तिक १७ गते बुटवलमा कार्यक्रम गरे यता राजावादीहरुले अहिलेसम्म देशका प्रमुख शहरहरुमा श्रृङखलाबद्ध किसिमबाट कार्यक्रम गरिसकेका छन् । राजावादीहरुको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका बयोबृद्ध नेता मोहनचन्द्र अधिकारी तथा कांग्रेसका पुराना नेता विपिन कोइराला जस्ता नेताको उपस्थितिले नेकपा र कांग्रेसलाई झनै झस्काएको छ । जनतामा देखिएको यो निराशालाई वर्तमान व्यवस्था पक्षधर दलहरुले समयमै सम्बोधन गर्न आवश्यक देखिएको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
हाम्राकुरा डट.कमवाट साभार ।