विराटनगर ५ पुष ।
विराटनगर–१ पोखरिया स्थित परोपकार घाट पूर्व सिंघिया खोला छेउमा हिन्दु धर्मका विभिन्न देवीदेवताहरुको मूर्ति बेवारिसे अवस्थामा रहेको देख्न सकिन्छ ।
सिमेन्टका ति मूर्तिहरु कुनै भत्किएका छन् भने कुनै पूर्ण वा आधा रुपमा माटोमा गाडिएका छन् । ति मूर्तिहरु श्री १००८ मेलाको अवसरमा राखिएको थियो । मेलाको आयोजक समितिले मात्र नभई कसैले पनि वास्ता नगर्दा हालसम्म पनि मूर्तिको उचित व्यवस्थापन हुन सकेको थिएन ।
झुलन पूजा समारोह समितिका अध्यक्ष सुनिल कामतको अगुवाइमा स्थानीय युवाहरुले मूर्तिहरुको व्यवस्थापन गरेर एउटा उदाहरणीय काम गरेका छन् । त्यस स्थानमा पुग्दा समितिका उपाध्यक्ष रमेश चौधरी, सदस्यहरु कृष्ण कामत, शुभम भुजेल, प्रमोद पोख्रेल सहित अन्य स्थानिय युवाहरु गाडिएका मूर्ति निकाल्न लगायत मूर्ति व्यवस्थापनको काममा व्यस्त देखिन्थे ।
उक्त मूर्तिहरु विगत १० वर्षदेखि बेवारिसे अवस्थामा रहेको अध्यक्ष कामतले बताए । विभिन्न मेला तथा धार्मिक कार्यक्रमहरुमा देवीदेवताको मूर्ति पुजाआजाको लागि राखेर कार्यक्रमको समापन पश्चात यसरी बेवारिसे अवस्थामा छाडिनु निकै दुखद भएको उनको भनाइ थियो ।
यस्तो कार्यले हिन्दु धर्मको अपमान भएको उनले बताए । यस्तो कुकृत्यले धार्मिक आस्था बोकेका मानिसहरुको भावनामा चोट पुग्ने काम भएको भन्दै अब उप्रान्त यस्तो घटना नदोहोरिने अपेक्षा राखेको बताए ।
बेवारिसे अवस्थामा रहेका मूर्तिहरुलाई आइतबार विशेष पूजा आराधना सहित सुनसरीको चतरास्थित कोशी नदिमा विसर्जन गरिने कामतले बताएका छन् ।