काठमान्डौ २८ पुस ।
हुस्सु र कुइरोका कारण देशभरका हवाइ उडानहरु प्रभावित भएको छ । विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्जलगायत हुने उडानहरु दुई दिनदेखि प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको सूचना विमानस्थलले दिएको छ ।
काठमान्डौ विमानस्थलका अनुसार सोमवार तराई तथा पहाडी क्षेत्रका विमानस्थलका लागि तोकिएको ८८ उडान तालिका मध्ये ४० उडान रद्द भएका छन् भने आज मंगलवार पनि ८८ उडान तालिका मध्ये अधिकांश उडानहरु हुन सकेको छैन ।
उडान रद्द भएपछि यात्रुले निकै सास्ती बेहोर्नुपरेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भू–भागका धेरैजसो स्थानमा हुस्सुरकुहिरो लागेकाले चिसोबाट बच्न र हवाइ यात्रामा पर्नसक्ने जोखिमबाट सतर्कता अपनाउन समेत भनेको छ ।