विराटनगर २४ फाल्गुन ।
महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ महिला दिवस मनाइँदै छ । दिवसको अन्तर्राष्ट्रिय नारा भने ‘चुनौती दिने रोजाइ लेउ’ भन्ने तय गरिएको छ । मार्च ८ अर्थात १११औं अन्तर्राष्ट्रिय महिला दिवस आज नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
खासमा क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषण र विभेद् विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर दिवस मनाउने प्रचलन रहेको छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् ।
त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे । जसलाई महिला हक अधिकारको माग गर्दै भएको पहिलो आन्दोलनकारुपमा स्मरण गर्ने गरिन्छ ।