विराटनगर २६ फाल्गुन ।
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले मानव पूँजीको रुपमा रहेको सभ्यता र मर्यादालाई जनप्रतिनिधिहरुले बिर्सन नहुने बताएका छन् । उनले ‘स्वच्छ र समुत्रत ’ प्रदेश बनाउन विकासमा सीपालु जनप्रतिनिधिहरुले दिगो विकासमा केन्द्रित भएर काम गर्नु पर्ने सुझाव दिँदै विकास गर्दा स्वास्थ्य र वातावरणको ख्याल गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे ।
प्रादेशिक लक्ष्यमा सांसदहरुले विशेष ध्यान दिनु पर्ने भन्दै प्रदेश प्रमुख अधिकारीले प्रदेशको वस्तुगत आवश्यकतामा जनप्रतिनिधिहरु गम्भीर हुनुपर्नेमा जोड दिए । प्रदेश प्रमुख अधिकारीले कोभिड- १९ संक्रमण नियन्त्रणका लागि आएको खोप सवै जनतामा लान र यसवारे छरिएका भ्रम निरुपण गर्न आग्रह गरे ।
राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा विराटनगरमा आयोजित “कोभिड–१९को स्वास्थ्यमा प्रभाव र सरकारको भूमिका भ्याक्सिन योजना” सम्बन्धी कार्यक्रममा बोल्दै प्रदेश प्रमुखले यस्तो बताएका हुन् । यस्तै कार्यक्रममा बोल्दै खोप महाशाखा प्रमुख डा.झलक शर्मा गौतमले सरकारको खोप योजनाका विषयमा र डा. प्रभात अधिकारीले कोभिड–१९ का बारेमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका थिए ।
राष्ट्रिय सभा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा र सांसद लक्ष्मी परियारले आमनागरिकलाई कोभिड–१९को भयबाट छुटकरा दिलाउन सरकारले खोप अभियान सञ्चालन गरेको बताए । कार्यक्रममा प्रदेश सभा सचिवालयका कर्मचारी, प्रदेश सभा सदस्य र जनप्रतिनिधिहरुको सहभागिता थियो ।