विराटनगर ४ चैत्र ।
विराटनगर महानगरपालिका उद्योगहरुको मात्र शहर होइन । महानगरपालिका क्षेत्रभित्रका कतिपय वडाहरु अहिले पनि आफ्नो कृषि आधार क्षेत्रबाट अलग बन्न सकेका छैनन् । विराटनगरका केही वडाहरु कृषिका लागि उर्वर स्थलमा गनिन्छन् ।
विराटनगर १९ मा रहेको खापटोलमा स्थानिय कृषकहरुको समुहले २२ विगाह क्षेत्रफलमा गहुँ खेती गरेका छन् । विराटनगर महानगरको गहुँपकेट कार्यक्रम अन्तरगत बरियाली कृषक समुहले खेती गरेका हुन् । समुहमा २५ जना किसानहरु रहेका छन् । विजय जातको गहुँ कृषकहरुले लगाएका छन् ।
खेतीका लागि विराटनगर महानगरको कृषि शाखाले बिउविजन प्रदान गरेको थियो । यसका अलावा कृषकहरुलाई मंगलबार विराटनगर महानगरले कृषिजन्य विभिन्न मेसिनहरु प्रदान गरेको छ ।
महानगरका मेयर भीम पराजुलीले एक कार्यक्रमका बीच कम्बाइन हार्भेष्टर मेसिन र ट्याक्टर बरियाली कृषक समुहका अध्यक्ष इन्द्रलाल बास्तोलालाई चाबी हस्तान्तर गरेका छन् । विराटनगरको १८ र १९ नम्बर वडामा कृषि योग्य क्षेत्र रहेका छन् । महानगरले यी दुवै क्षेत्रमा कृषिका कार्यक्रमहरु केन्द्रीत गरेको छ भने कृषकहरुका लागि विभिन्न सेवा दिदै आएको छ ।