बैशाख २८ गते ।
काठमाडौं,२८ बैशाख । एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको छ । ई स्पोर्ट्स संघ नेपाल (ईशान)को आयोजनामा गत शुक्रबारदेखि सुरु भएको पब्जी मोबाईल सो डाउन नामको एसियन ई स्पोर्ट्स च्याम्पियनसिपको उपाधि पाकिस्तानले जितेको हो । तीन दिनसम्म अनलाईनमार्फत चलेको प्रतियोगितामा अन्तिम दिन उत्कृष्ट प्रर्दशन गर्दै पाकिस्तान च्याम्पियन बन्यो । पाकिस्तान १५ खेलमा चार पटक चिकेन डिनर जित्दै १ सय ७३ अंकको साथ शीर्ष स्थान हासिल गर्यो ।
इन्डोनेसियालाई मात्र ४ अंकले पछि पार्दै पाकिस्तानले उपाधिमाथि कब्जा जमाएको हो । इन्डोनेसिया १५ खेलमा तीन पटक चिकेन डिनर जित्दै १ सय ६९ अंक सहित दोस्रो स्थान हासिल गर्यो । नेपाल निलो टिमले ४ चिकेट डिनर सहित १ सय ५४ अंक सहित तेस्रो स्थान हासिल गर्यो ।
नेपाल रातो १ सय १८ अंक सहित चौथौं र मलेसिया १ सय १२ अंक सहित पाँचौं स्थान हासिल गर्यो । छैटौं स्थानको जोर्डनले ९० अंक जोड्यो । प्रतियोगितामा पाकिस्तानका फाल्का सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा नेपाल सहित कुल १४ राष्ट्रको सहभागीता रहेको थियो ।
उपाधि सहित पाकिस्तानले ४ लाख रुपैयाँ हात पारेको छ । दोस्रो इन्डोनेसियाले २ लाख, तेस्रो स्थानको नेपाल निलोले १ लाख ५० हजार, चौथों नेपाल रातोले १ लाख, पाँचौं र छौटौं स्थानमा आएका मलेसिया र जोर्डनले समान ५० हजार रुपैयाँ हात पारेका छन् । सर्वोत्कृष्ट खेलाडी फाल्काले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
ई स्पोर्ट्सको माध्यमबाट एसियाली देशहरुबीच सहकार्य र प्रतिस्पर्धालाई नयाँ उचाईमा पुर्याउने उद्धेश्यले ई स्पोर्ट्स संघ नेपालले प्रतियोगिताको आयोजना गरिएको हो । ‘हामीले एसियाली देशहरुलाई एक मञ्चमा ल्याएर एउटा नयाँ अध्यायको सुरुवात गरेका छौं । भविष्यमा पनि यस्ता प्रतियोगिताले निरन्तरता पाउनेछन् संघका अध्यक्ष अन्जन धमलाले भने ।