Birat Post शुक्रबार, आषाढ ३१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,३१ असार ।

नेपाली कांग्रेसकी सांसद पुष्पा भुषाल गौतम उपसभामुख बनेकी छिन् । प्रतिनिधि सभाको बैठकमा शुक्रबार भएको मतदानमा पुष्पा १४८ मतसहित विजयी हुँदै उपसभामुख बनेकी हुन् । उनकी प्रतिस्पर्धी नेकपा एमालेकी विद्या भट्टराईले ९३ मत ल्याइन् । मतदानमा २४२ जनाले भाग लिएका थिए । पुष्पा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी थिइन् । विद्या एमालेका तर्फबाट उम्मेदवार थिइन् । पुष्पालाई पाँच दलीय गठबन्धनसँगै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको पनि समर्थन रहेको थियो । विद्यालाई भने एक मत रहेको राप्रपाले समर्थन गरेको थियो । संसदको अर्को दल नेपाल मजदुर किसान पार्टी नेमकिपा भने तटस्थ बसेको थियो ।

प्रतिनिधि सभाको अंक गणित हेर्दा गठबन्धनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद छन् । एमालेको पक्षमा भने ९८ सांसद मात्रै छन् । त्यसमा पनि सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा संलग्न छन् । उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । सत्तारुढ गठबन्धनसँग १ सय ५४ सांसद छन् । त्यसमा १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टीले पनि गठबन्धनलाई साथ दियो ।

एमालेलाई १ सिट भएको राप्रपाले साथ दियो भने एक सिटे नेमकिपा तटस्थ बस्यो । निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन आगामी मंसिर ४ गते घोषणा गर्न सरकारलाई सिफारिस गरेसँगै करिब पाँच महिनाका लागिमात्रै पदावधि रहेको प्रतिनिधि सभाले उपसभामुख पाएको हो । तत्कालीन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेले २०७६ माघ ६ गते राजीनामा दिएपछि उपसभामुख पद खाली रहेको थियो । उनले आफू सभामुख हुनका लागि भनेर राजीनामा दिएको भए पनि उनलाई पार्टीले पत्याएन । तत्कालीन अवस्थामा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा बनेको थियो ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा मुछिएपछि पदबाट हटेका थिए । त्यसपछि उक्त पदमा अग्निप्रसाद सापकोटा २०७६ माघ १२ मा निर्वाचित भएका थिए । मुलुकले सभामुख पाए पनि उपसभामुख पाएन । सभामुख र उपसभामुख एउटै पार्टी र एउटै लिङ्गको हुन पाइँदैन । त्यसैले पनि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उपसभामुख प्रमुख प्रतिपक्षलाई दिन चाहेन । पछि एमाले र माओवादीको एकता कानूनी रुपमा टुट्यो । अहिले एमाले प्रतिपक्षमा छ भने माओवादी सत्तारुढ दलमा छ ।

माओवादीबाट सापकोटा सभामुख रहेका अवस्थामा कांग्रेसबाट उपसभामुख तोकिएको हो । उपसभामुख चयनका लागि सभामुख सापकोटाले बुधबार मात्रै दिन र समय तोकेका थिए । उम्मेदवारी दर्ताका लागि बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको थियो । सो समयमा गठबन्धनबाट कांग्रेसकी भुषाल र एमालेबाट भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए ।

भुषालको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र समर्थकमा नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मीकुमारी चौधरी रहेका थिए । एमालेको उपसभामुख उम्मेदवार भट्टराईको प्रस्तावकमा सचेतक शान्ता चौधरी र समर्थकमा सांसद कृष्णभक्त पोखरेल रहेका थिए । प्रतिनिधि सभाको अर्को बैठक साउन ४ गते बस्ने भएको छ ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल