स्वस्तिका पोखरेल
इनरुवा,२० चैत ।
पूर्वक्षेत्रका नागरिकद्वारा सुनसरीको इनरुवामा आयोजित विशाल सभामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘नागरिक अभिनन्दन’ गरिएको छ । पूर्व क्षेत्रका नागरिकद्वारा आयोजित भनिएको कार्यक्रममा नेपाल विद्वत परिषदले विशेष सहयोग गरेको थियो ।
अभिनन्दन भए संगै पूर्वराजा शाहले नेपाली नागरिकका नाममा भन्दै सम्बोधन गरेका थिए । शाहले विभिन्न प्रलोभन दिलाएर सामाजिक संरचना च्यात्ने र दखल दिने प्रयास गरिएको भन्दै दु:ख व्यक्त गरे ।
परिवार, समूह, दल, गुटका नाममा अल्झिएर चलिरहेको प्रणालीले काम गर्न नसक्ने बताए । उनले राष्ट्रियता र एकताको रक्षा गर्न नसकिने स्थिति आएको र यसका लागि सचेत नागरिकले राष्ट्र, राष्ट्रियता, स्वाभिमान अखण्डता र सार्वभौमिक स्वतन्त्रता जोगाउन जाग्नुपर्ने बेला आएको बताए । सुशासन र शान्तिको माध्यमबाट चौतर्फी विकासको बोटमा लाग्नुपर्नेमा जोड दिए ।
शाहले भने ‘राष्ट्र नै हाम्रो ब्रम्ह हो ,जनता नै हाम्रा विधाता हुन् । अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नुपर्छ ।’ठूलो संख्यामा भेला भएका नागरिकहरुलाई शाहले धन्यवाद दिएका थिए । उनले देशको माया र चासो नागरिकमा अझ दर्विलो बन्दै गएकोमा खुसी समेत व्यक्त गरे ।