काठमान्डौं,३० चैत । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सत्तारुढ गठबन्धनका बीचमा कुनै समस्या नभएको बताएकी छन् ।
बिहीवार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको बीचमा सरकार सञ्चालनको सम्बन्धमा आवश्यक संवाद र छलफल भइरहेको बताएकी हुन् । उनले सरकारले सेवा प्रवाहका काम, नीतिगत, कानूनी कामहरु र बजेट निर्माणको कामलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरिन् ।
उनले सत्तारुढ गठन्धनका दलहरु सहितका अन्य दलहरुसँग समेत देशको अर्थतन्त्र सुधार लगायतका विषयहरुमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको बताइन् ।
मन्त्री शर्माले मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद्ग (गठन) आदेश, २०७५ को अनुसूचि संशोधन गर्ने निर्णय गरेको जानकारी दिइन् । त्यस्तै, २०८० वैशाख १३ गतेदेखि १५ गतेसम्म भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख सचिव डा। गोपिकृष्ण खनाललाई सहभागि हुन स्वीकृत गरेको पनि उनले जानकारी दिइन् ।
मन्त्रिपरिषद् बैठकले आगामी जेठ ९ गतेदेखि १२ गतेसम्म मंगोलियामा आयोजना हुने एशियाली उत्पादकत्व संगठनको बैठकमा भाग लिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) लाई स्वीकृत दिने निर्णय गरेको छ ।
बैठकले व्यापार घाटा न्युनिकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना, २०७९ स्वीकृत गर्ने, कुखुराको दानाको गुणस्तर वा मात्रा निर्धारण गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकति दिने, खाद्य पदार्थमा जीवनाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने र प्रशोधित फोहोर पानी उत्सर्जन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्ने लगायतका विभिन्न निर्णयहरु गरिएको मन्त्री शर्माले बताइन् ।