काठमान्डौं,७ बैशाख । म्याग्दीस्थित अन्नपूर्ण हिमालमा गत सोमबारदेखि बेपत्ता भएका एक भारतीय पर्वतारोही जीवितै फेला परेका छन् ।
सेभेन समिट ट्रेक्सबाट आरोहणमा गएका भारत राजस्थान किसनगढका ३४ वर्षीय अनुराग मालुको जीवितै उद्धार गरिएको हो । तर, गम्भीर अवस्थामा फेला परेका उनलाई अस्पताल लगिएको छ ।
सफलतापूर्वक आरोहण गरी आधार शिविर फर्कने क्रममा सोमबार दिउँसोदेखि सात हजार पाँच सय मिटरको उचाइबाट उनी वेपत्ता भएका थिए । उनको खोजीमा निजी कम्पनीका चारवटा हेलिकोप्टर परिचालन गरिएको थियो ।
यसअघि ‘सेभेन समिट ट्रेक्स’ बाट नै आरोहणमा गएका आरोही नोयल हन्नाको मृत्यु भएको थियो भने भारतीय आरोही बलजित कौरको सात हजार पाँच सय मिटर उचाइबाट जीवितै उद्धार गरिएको थियो ।