काठमाडौं,१७ बैशाख ।
शहरी सौन्दर्यीकरणका नाममा केवल नेटवर्क एवम् इन्टरनेट तार अन्धाधुन्ध काट्न थालेको भन्दै स्थानिय तहहरुलाई सचेत गराइएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहहरुलाई दूरसञ्चारका सेवा प्रदायक कम्पनीहरुले जडान गरेको केवल नेटवर्कका तारहरु अन्धाधुन्ध नकाट्न परिपत्र गर्दै सचेत गराएको छ ।
नेपाल टेलिकमले समन्वय गरिदिन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलमार्फत पत्राचार गरी सहयोग मागेको थियो । टेलिकमको सोही पत्र अनुसार सञ्चार मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई स्थानीय तहसँग समन्वय गरी समस्या समाधान गर्न भनेको थियो ।
परिपत्रमा विभिन्न स्थानीय तहहरुले शहरी सौन्दर्यता कायम गराउने भनी दूरससञ्चार सेवा सञ्चालनको लागि यस कम्पनीले विस्तार गरेको केवल नेटवर्कहरु अन्धाधुन्धरुपमा काटिदिने क्रम बढिरहेको र यसबाट कम्पनीले उपलब्ध गराएका टेलिफोन इन्टरनेट एवं टेलिभिजन सेवाहरु अवरुद्ध भई सेवाग्राहीहरु सेवाबाट बञ्चित हुनु परेको अवस्था छ ।’
स्थानीय तहले काटेको केवल नेटवर्क पुनर्स्थापना गर्न ठूलो परिमाणमा केवलहरु विदेशबाट आयात गर्नुपर्ने र आर्थिक समस्या उत्पन्न हुने पनि देखिएकाले शहरी सौन्दर्यका कार्यहरु गर्दा कम्पनीका स्थानीय कार्यालयहरुसँग समन्वय गरी काम गर्न भनिएको छ ।