
काठमाडौं ,२ असोज । मंगलबार विहानदेखि फेसबुक, थ्रेड्स लगायत मेटाका प्लेटफर्ममा समाचारका लिंकहरू शेयर गर्दा फिचर फोटो नदेखिने समस्या आएको छ । मेटाले वेबसाइटको एसईओ डेटा नलिएकाले त्यस्तो समस्या आइरहेको हुनसक्ने डेभलपरहरूको अनुमान छ ।
फेसबुकमा लिङ्क शेयर गर्दा केही मिडियाको विज्ञापनको फोटो फिचर फोटोको रूपमा तानिरहेको छ भने केहीमा हेडरमा राखेको फोटो तानिरहेको छ ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्मका लिङ्क शेयर गर्दा पनि त्यस्तै समस्या देखिरहेको छ । केहीमा भने फोटो नदेखिने, लिङ्क मात्र देखिने समस्या छ । यस्तो हुनुको वास्तविक कारण बाहिरिएको छैन ।
त्यस्तै मेटाले पनि आधिकारिक रूपमा यस्तो समस्या हुनुको कारण खुलाएको छैन ।
